भदौ १६ सम्म थपियो लक डाउन
काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुखहरुको संयुक्त बैठकले भोलिदेखि लागू हुने गरि भदौ १६ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । कोभिड प्रोटोकल पालना गर्दै राती आठ बजेपछि पनि सार्वजनिक तथा निजी सवारी साधन संचालन गर्न पाइने भएको छ । राती ८ बजेपछि सवारी साधनमा रोक लगाइँदा चौतर्फी आलोचना भएपछि जिल्ला प्रशासनले त्यसलाई ९ गतेदेखि हटाएका छन् ।
उक्त अवधिमा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार लगायत मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम संचालन गर्न पाइने छैन ।यस्तै, स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म संचालन गर्न नपाउने निर्णय भएको छ ।
व्यवसाय सञ्चालन पसल तथा व्यवसायहरु साँझ ७ः०० बजेसम्म सञ्चालन गर्न पाइने छ । अत्यावश्यक वस्तुहरुको अनलाईन अर्डर, रेष्टुरेण्ट एवं फास्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी गर्न पाइने व्यवस्था छ । सार्वजनिक सवारी साधनहरु स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराखी अनिवार्यरुपमा मास्क लगाएर मात्र सञ्चालन गर्न पाइन्छ ।














