EN
मेनु
Flash News

विराटनगरमा नेपालीका नाममा फर्म,कारोबार चिनियाँ नागरिकको

विराटनगर।नेपाली नागरिकका नाममा व्यापारिक फर्म दर्ता गरेर दैनिक कारोबार भने चिनियाँ नागरिकले सञ्चालन गरिरहेको घटना विराटनगरमा फेरि फेला परेको छ।

विराटनगर महानगरपालिका–२ स्थित एभरपिक सप्लायर्समा सोमबार गरिएको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा फर्म दर्ता भएको तर पसलको दैनिक कारोबार चिनियाँ नागरिक ली जोसिज्याकले सम्हालिरहेको पाइएको हो।

अनुगमन टोलीका अनुसार फर्मको दर्ता नेपाली नागरिकका नाममा रहे पनि पसल सञ्चालन, ग्राहकसँगको कारोबार तथा दैनिक व्यवस्थापनमा चिनियाँ नागरिकको प्रत्यक्ष संलग्नता देखिएको थियो।

विराटनगर क्षेत्रमा यसअघि पनि नेपाली नागरिकका नाममा व्यापारिक फर्म दर्ता गरी विदेशी नागरिकले कारोबार सञ्चालन गरेको पाइएका घटना सार्वजनिक हुँदै आएका छन्। यस्ता घटनाले फर्म दर्ता प्रक्रिया, वास्तविक सञ्चालकको पहिचान तथा व्यवसाय सञ्चालनसम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी अनुगमनमाथि प्रश्न उठाएको छ।

सम्बन्धित निकायले एभरपिक सप्लायर्सको दर्ता विवरण, सञ्चालकको भूमिका तथा कारोबारको प्रकृतिबारे थप अनुसन्धान गर्ने जनाएको छ।

विदेशी नागरिकले नेपाली नागरिकको नाममा फर्म सञ्चालन गरेको पाइएमा प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने सरोकारवालाहरू बताउँछन्। यसका लागि फर्म दर्ता गर्ने व्यक्ति र वास्तविक रूपमा व्यवसाय सञ्चालन गर्ने व्यक्तिबीचको सम्बन्ध तथा आर्थिक कारोबारसमेत छानबिनको विषय बन्ने देखिन्छ।