EN
मेनु
Flash News

दूरसञ्चार सेवा व्यवस्थित गर्न नियामकको भूमिका प्रभावकारी बनाउनुपर्छ : अध्यक्ष घिमिरे

काठमाडौं।नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार क्षेत्रमा देखिएका समस्या र जटिलता समाधान गर्न नियामक निकायले आफ्नो भूमिका थप प्रभावकारी बनाउनुपर्ने बताएका छन्।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष घिमिरेले दूरसञ्चार सेवा प्रदायकलाई सेवाप्रति थप जिम्मेवार बनाउन प्राधिकरणले आफ्ना गतिविधि तथा सेवासँग सम्बन्धित विषयहरू सार्वजनिक गर्दै आएको बताए।

दूरसञ्चार सेवा व्यवस्थित हुन नसके त्यसको प्रत्यक्ष असर आम उपभोक्तामाथि पर्ने उल्लेख गर्दै उनले सेवा गुणस्तर र व्यवस्थापनका विषयमा प्राधिकरण गम्भीर भएर अघि बढ्नुपर्ने बताए।

‘अहिले दूरसञ्चार सेवा अत्यावश्यक भइसकेको छ । यो अत्यावश्यक सेवालाई व्यवस्थित रूपमा लैजान सकेनौँ भने त्यसको मार हामी कन्ज्युमरमा पर्छ,’ अध्यक्ष घिमिरेले भने, ‘कन्ज्युमरका हिसाबले सेवाप्रति अलिकति व्यवस्थित गर्नको लागि सिरियस रूपमै लाग्नुपर्ने अवस्था छ।’

अध्यक्ष घिमिरेका अनुसार पछिल्लो समय नेपालको दूरसञ्चार क्षेत्रमा विभिन्न चुनौती थपिएका छन्। विगतमा भ्वाइस सेवा प्रदान गर्ने ६ वटा अपरेटर रहेकामा अहिले उक्त संख्या घटेर दुईवटामा सीमित भएको उनले जानकारी दिए।

यता, इन्टरनेट सेवा प्रदायक (आईएसपी)को संख्या भने बढिरहेको उनले बताए।

घिमिरेले दूरसञ्चार क्षेत्रको कुल आम्दानीसमेत घट्दो क्रममा रहेको बताए। डाटा सेवाबाट हुने आम्दानी बढ्दै गए पनि भ्वाइस सेवाबाट प्राप्त हुने आम्दानीमा कमी आएको उनको भनाइ छ।

दूरसञ्चार क्षेत्रसँग सम्बन्धित गतिविधि, समस्या तथा सेवाको अवस्थाबारे आम उपभोक्तालाई सुसूचित गराउन सञ्चारमाध्यमसँग सहकार्य आवश्यक रहेको अध्यक्ष घिमिरेले बताए।

उनले प्राधिकरणका कामकारबाहीको निगरानीमा सञ्चारमाध्यमले ‘वाचडग’को भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे। प्राधिकरणले काम गर्ने क्रममा कुनै दबाब वा प्रभाव आएमा समेत सञ्चारमाध्यमले खबरदारी गर्नुपर्ने उनले बताए।

प्राधिकरणले आफूले गरेका कामकारबाही तथा गतिविधिबारे प्रत्येक महिना सञ्चारमाध्यमसमक्ष जानकारी गराउने योजना बनाएको अध्यक्ष घिमिरेले जानकारी दिए।