EN
मेनु
Flash News

गुन्द्रुकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन होटल व्यवसायीको जोड

काठमाडौं।नेपाली मौलिक तथा रैथाने खाद्य परिकार गुन्द्रुकको प्रवद्र्धन, व्यावसायिक उपयोग र अन्तर्राष्ट्रिय पहिचान विस्तारका लागि सरोकारवालाले जोड दिएका छन्।

आरोग्य वर्ष २०२७ लाई लक्षित गर्दै होटल संघ नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘गुन्द्रुक राष्ट्रिय कार्यशाला’मा सहभागीहरूले गुन्द्रुकको उत्पादनदेखि बजारीकरणसम्म व्यवस्थित योजना आवश्यक रहेको बताएका हुन्।


कार्यशालामा होटल संघ नेपालका अध्यक्ष विनायक शाहले गुन्द्रुक नेपाली मौलिक खाद्य परिकारको महत्वपूर्ण हिस्सा भएकाले यसको पहिचान, खाद्य सुरक्षा, गुणस्तर, भण्डारण तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय बजारीकरणमा विशेष ध्यान दिनुपर्ने बताए।

उनले गुन्द्रुकको प्रवद्र्धनका लागि राष्ट्रियस्तरमै विशेष पहल गर्नुपर्ने र गुन्द्रुकलाई राष्ट्रिय दिवसका रूपमा मनाउने विषयमा समेत धारणा राखे।

कार्यशालामा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ अनुसन्धान अधिकृत भीम पुलामीले गुन्द्रुकको उत्पादन, गुणस्तर, पोषण र खाद्य सुरक्षालगायत विषय समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यपत्रमाथि लेखक तथा खाद्य विश्लेषक शारदा ज्ञवाली, वरिष्ठ सेफ गोविन्द नरसिंह केसी तथा कन्सल्टिङ सेफ श्यामबहादुर तामाङले टिप्पणी गरेका थिए। त्यसपछि भएको छलफलमा गुन्द्रुकको उत्पादन, प्रशोधन, संरक्षण, गुणस्तर तथा होटल र पर्यटन क्षेत्रमा यसको व्यावसायिक प्रयोगका विषयमा सहभागीहरूले सुझाव तथा जिज्ञासा राखेका थिए।

कार्यक्रममा रोयल ट्युलिप काठमाडौंका केदार पाण्डेले होटलहरूले गुन्द्रुकलाई आफ्ना परिकार तथा मेनुमा समावेश गरेर यसको प्रवद्र्धनमा योगदान पुर्‍याउन सक्ने बताए।

नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठानका कार्यकारी निर्देशक तथा प्राचार्य दिव्यराज पोखरेलले गुन्द्रुकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्न शैक्षिक तथा व्यावसायिक पाठ्यक्रममा समेत समेट्न सकिने धारणा राखे।

कार्यक्रमका प्रमुख अतिथि पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले होटलका मेनुमा नेपाली रैथाने तथा मौलिक खानाका परिकार समावेश गर्ने व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए। उनले गुन्द्रुकलाई समेत होटल तथा पर्यटन क्षेत्रका मेनुमा समावेश गर्न जोड दिँदै नेपाली मौलिक खानाको प्रवद्र्धनबाट पर्यटकको नेपाल भ्रमण अनुभव थप समृद्ध बनाउन सकिने बताए।

कार्यशालामा टीभेट काउन्सिल सदस्य तथा साना तथा घरेलु उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवाल, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपालका अध्यक्ष संघर्ष बिष्ट तथा पाटा नेपाल च्याप्टरका अध्यक्ष नरेन्द्र भट्टले गुन्द्रुकसहित नेपाली मौलिक खानाको महत्वबारे धारणा राखेका थिए।

कार्यक्रमको समापन गर्दै होटल संघ नेपालका महासचिव साजन शाक्यले कार्यशालाबाट प्राप्त सुझाव तथा महत्वपूर्ण विषयलाई लिपिबद्ध गरी आगामी दिनमा कार्यान्वयनतर्फ अघि बढाइने बताए।

उनले गुन्द्रुकको उत्पादन, गुणस्तर, व्यावसायिक प्रयोग तथा पर्यटन र आतिथ्य क्षेत्रमा यसको प्रवद्र्धनका लागि सम्बन्धित सरोकारवालासँग निरन्तर छलफल र सहकार्य गरिने जानकारी दिए।

होटल संघ नेपालले आरोग्य वर्ष २०२७ लाई लक्षित गर्दै नेपाली रैथाने तथा मौलिक खाद्य परिकारको प्रवद्र्धन, स्वस्थ खानपानको संस्कृति विकास तथा नेपाली खानालाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पहिचान दिलाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।