काठमाडौं।राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कंगाल करोडपति’को छायांकन मंगलबारदेखि सुरु भएको छ। निर्माण पक्षका अनुसार फिल्मको पहिलो सेड्युल काठमाडौंको गोकर्णबाट सुरु गरिएको हो।
फिल्मको काठमाडौं सेड्युलअन्तर्गत चार दिनसम्म छायांकन गरिनेछ। त्यसपछि निर्माण टोली चितवनतर्फ प्रस्थान गर्नेछ। फिल्मको सम्पूर्ण छायांकन करिब ३५ दिनभित्र सम्पन्न गर्ने तयारी निर्माण पक्षको रहेको छ।
प्रविण आचार्यको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्ममा मुकुन भुषाल, मन्जिल कुमार, सलिना तामाङ, आरती आचार्य, हिउँवाला गौतम, चन्द्रवीर सिंह, अनिल बुढाथोकी, रेयर राई, प्राप्ति श्रेष्ठ, पदम सिं, राजन काथ्री, हरि भण्डारी र भीमसेन खतिवडालगायत कलाकारको अभिनय रहनेछ।
फिल्मको कथा, विषयवस्तु तथा अन्य प्राविधिक पक्षबारे निर्माण पक्षले थप जानकारी सार्वजनिक गर्ने जनाएको छ। छायांकन सुरु भएसँगै ‘कंगाल करोडपति’ निर्माणको औपचारिक प्रक्रिया अघि बढेको हो।



