रसुवाको भोटेकोशी बाढी: पुनःस्थापनाका लागि स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह
काठमाडौं-प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा पुनर्निर्माणका लागि स्रोतसाधनको कुनै पनि कमी हुन नदिने दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
![]()
प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा उहाँले सरकारले आफूसँग उपलब्ध स्रोत र दातृ निकायको सहयोगसमेत परिचालन गरी पुनःस्थापनाको तयारी गरिरहेको बताउनुभयो।


विपद्को यस घडीमा स्थानीय तहका जनप्रतिनिधिसँगको छलफलले उनीहरूको मनोबल उच्च राख्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री शाहले संकटको बेला तीनै तहका सरकारबीच देखिएको दरो एकता प्रशंसनीय रहेको उल्लेख गर्नुभयो।
“यसअघि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुँदैन भन्ने सुन्दै आएका थियौँ, तर यस विपद्मा हामी एकै ठाउँमा उभियौँ, मिलेर काम गर्यौँ,” जनप्रतिनिधिहरूसँगको संवादमा प्रधानमन्त्री शाहले भन्नुभयो।

सरकार प्रभावित क्षेत्रमा जतिसक्दो चाँडो सडक सञ्जाल पुनःसञ्चालन गर्ने गरी निरन्तर खटिरहेको जानकारी गराउँदै उहाँले यातायात सञ्जाल खुल्नेबित्तिकै प्रभावित नागरिकहरूलाई पूर्ववत् अवस्थामा फर्कन सहज हुने बताउनुभयो।
तटीय क्षेत्रमा पुनः बस्ती बसाउन असम्भव
छलफलका क्रममा प्रधानमन्त्री शाहले नदी तटीय क्षेत्रका बस्तीहरू सुरुदेखि नै उच्च जोखिममा रहेको विषय स्मरण गराउनुभयो। स्थानीय जनप्रतिनिधिहरूले औँल्याएझैँ अब बाढीले प्रभावित बनेका तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नरहेको स्पष्ट पार्दै उहाँले त्यसको विकल्पस्वरूप सुरक्षित र पायक पर्ने स्थानमा नयाँ बस्ती बसाउने तयारी थालिएको जानकारी दिनुभयो।


“बस्ती बसाउँदा प्रभावित मानिसहरूको रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृतिलगायत पक्षलाई ध्यान दिनुपर्छ र उनीहरूलाई पूर्ववत् जीवन सहज बनाउनुपर्छ,” प्रधानमन्त्री शाहले भन्नुभयो, “खेतीयोग्य जमिन जोगाउँदै वैज्ञानिक ढङ्गले बस्ती व्यवस्थापन गर्नुपर्छ।”
सोही अनुरुप सुरक्षित जग्गाको पहिचान गरी यथाशीघ्र संघ सरकारलाई सिफारिस गर्न उहाँले स्थानीय जनप्रतिनिधिहरूलाई आग्रहसमेत गर्नुभयो। आजको यस अन्तरक्रियाले प्रभावित क्षेत्रको वास्तविक वस्तुस्थिति बुझ्न र आगामी योजना बनाउन थप सहजता पुगेको प्रधानमन्त्रीको भनाइ छ।












