साल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठलाई ‘कर्पोरेट एक्सिलेन्स लिडरसिप अवार्ड’
काठमाडौं।साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठ ‘कर्पोरेट एक्सिलेन्स लिडरसिप अवार्ड’बाट सम्मानित भएकी छन् ।
सिजन मिडियाले आइतबार आयोजना गरेको ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’ समारोहमा श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिएको हो । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, नेपालका लागि बंगलादेशका राजदूत तथा सिजन मिडियाका अध्यक्ष प्रदीप राज वन्तले संयुक्त रूपमा श्रेष्ठलाई अवार्ड प्रदान गरेका थिए ।
![]()

सरकार र निजी क्षेत्रको संयुक्त लगानीमा सञ्चालित साल्ट ट्रेडिङको नेतृत्व गर्दै आएकी श्रेष्ठ नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष तथा नेपाल महिला चेम्बरकी अध्यक्षसमेत हुन् ।
आवश्यक वस्तुको सहज आपूर्ति, बिक्री वितरण र बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन श्रेष्ठले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी छन् । विपद् तथा संकटका समयमा अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापनमा साल्ट ट्रेडिङले खेल्दै आएको भूमिकालाई पनि उनको नेतृत्वसँग जोडेर हेरिएको छ ।

श्रेष्ठ महिला उद्यमशीलता प्रवर्द्धनमा समेत सक्रिय रहँदै आएकी छन् । नेपाल महिला चेम्बरमार्फत उनले वित्तीय साक्षरता, व्यावसायिक तालिम, उद्यम प्रवर्द्धन तथा महिला र युवा उद्यमी लक्षित विभिन्न कार्यक्रमको नेतृत्व गरेकी छन् ।
उनी युरोपियन इकोनोमिक चेम्बरकी उपाध्यक्ष, इन्टरनेसनल चेम्बर अफ कमर्सकी कार्यकारिणी सदस्य तथा नेपाल–भियतनाम चेम्बर अफ कमर्सकी वरिष्ठ उपाध्यक्षसमेत हुन् ।
व्यावसायिक नेतृत्व, संस्थागत व्यवस्थापन तथा महिला उद्यमशीलता प्रवर्द्धनमा पुर्याएको योगदानको कदरस्वरूप श्रेष्ठलाई ‘कर्पोरेट एक्सिलेन्स लिडरसिप अवार्ड’ प्रदान गरिएको आयोजकले जनाएको छ ।













