एलिफेन्ट्स इन द फग’ ९९औँ ओस्कारका लागि नेपालको आधिकारिक छनोट – Sagarmathapana:: Online News Portal

एलिफेन्ट्स इन द फग’ ९९औँ ओस्कारका लागि नेपालको आधिकारिक छनोट

   २०८३ भाद्र २९ गते  

काठमाडौं।नेपाली फिचर फिल्म एलिफेन्ट्स इन द फग (तिनीहरू) ९९औँ एकेडेमी अवार्ड्स (ओस्कार) का लागि नेपालको आधिकारिक अन्तर्राष्ट्रिय फिचर फिल्मतर्फको प्रतिनिधि बनेको छ। सन् २०२७ मा आयोजना हुने ओस्कारका लागि नेपालबाट फिल्म छनोट गरिएको हो।

नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले दुई प्रतिस्पर्धी फिल्म तिनीहरू र गौथली मध्येबाट तिनीहरू लाई छनोट गरेको हो। समितिले फिल्मको कथावाचन, प्राविधिक गुणस्तर, पात्र निर्माण तथा कलात्मक प्रस्तुतिलगायतका पक्षको मूल्यांकन गरेको जनाएको छ।


अबिनाशविक्रम शाहको निर्देशनमा बनेको तिनीहरू ले यसअघि नै अन्तर्राष्ट्रिय फिल्म क्षेत्रमा उल्लेखनीय पहिचान बनाइसकेको छ। यो फिल्म कान्स फिल्म फेस्टिभलमा आधिकारिक रूपमा छनोट हुने पहिलो नेपाली फिचर फिल्म बनेको थियो। कान्सको ‘अन सर्टेन रिगार्ड’ विधामा फिल्मले जुरी पुरस्कारसमेत जितेको थियो।

कान्सपछि पनि तिनीहरू ले विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा आफ्नो यात्रा जारी राख्दै आएको छ। फिल्मको अन्तर्राष्ट्रिय उपलब्धिले नेपालको चलचित्र क्षेत्रलाई विश्व मञ्चमा थप परिचित गराउन योगदान पुर्‍याएको छ।

ओस्कारका लागि छनोट भएसँगै तिनीहरू नेपालबाट ९९औँ एकेडेमी अवार्ड्समा पठाइने आधिकारिक फिल्म बनेको छ। यद्यपि, यो चरणमा फिल्म ओस्कारका लागि मनोनयनमा परिसकेको भने होइन। अब एकेडेमीको छनोट प्रक्रियापछि मात्र सम्भावित मनोनयनको टुंगो लाग्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै