रसुवा बाढीमा २६८ भारतीय अझै बेपत्ता, १५८ जनाको सकुशल उद्धार
काठमाडौँ।नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नेपाललाई भारतले निरन्तर सहयोग गरिरहेको बताएका छन्। उनले विपद्को कठिन समयमा भारत सधैँ नेपालको साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
राजदूत श्रीवास्तवका अनुसार बाढीपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई टेलिफोन गरी जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत तथा पुनःस्थापनामा भारत सरकारका तर्फबाट पूर्ण सहयोग गर्ने आश्वासन दिएका थिए।
भारतले बाढी आएको दिनदेखि हालसम्म चारवटा राहत उडानमार्फत ६७ टनभन्दा बढी अत्यावश्यक सामग्री नेपाल पठाइसकेको छ। राहत सामग्रीमा टेन्ट, त्रिपाल, औषधि तथा विपद् व्यवस्थापनमा प्रयोग हुने उपकरणहरू रहेका छन्।
त्यसैगरी, भारतले उद्धार तथा शव पहिचानका लागि विशेष टोलीसमेत नेपाल पठाएको छ। सुरुङभित्र उद्धारका लागि आवश्यक तालिम प्राप्त २४ सदस्यीय विशेषज्ञ टोली दुई चरणमा नेपाल आएको हो। पहिलो चरणमा ११ र दोस्रो चरणमा १३ जना विशेषज्ञ आवश्यक आधुनिक उपकरणसहित रसुवा पुगेर रेकी तथा उद्धार कार्यमा खटिएका छन्।
बाढीमा परी ज्यान गुमाएकाहरूको शव पहिचानका लागि भारतबाट १९ सदस्यीय डीएनए विशेषज्ञ टोलीसमेत नेपाल आइपुगेको छ। उक्त टोलीले नेपाल प्रहरीको केन्द्रीय फरेन्सिक विज्ञान प्रयोगशालाका अधिकारीसँग सहकार्य गर्दै शवहरूको डीएनए विश्लेषणमा सहयोग गरिरहेको छ।
यस विपद्मा ठूलो सङ्ख्यामा भारतीय नागरिकसमेत प्रभावित भएका छन्। भारतीय विदेश मन्त्रालयको तथ्याङ्कअनुसार २ सय ६८ जना भारतीय नागरिक अझै बेपत्ता छन्। नेपाली सेना तथा अन्य सुरक्षा निकायको सहयोगमा हालसम्म १ सय ५८ जना भारतीय नागरिकको सकुशल उद्धार गरिएको राजदूत श्रीवास्तवले जानकारी दिएका छन्।
उद्धार गरिएकामा कैलाश मानसरोवर यात्राका तीर्थयात्री तथा माथिल्लो त्रिशूली जलविद्युत् आयोजनामा कार्यरत भारतीय कामदारहरू रहेका छन्। उद्धार गरिएका भारतीयमध्ये तमिलनाडुका २१ जनाको समूह भारत फर्किसकेको छ।
राजदूत श्रीवास्तवले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिअनुसार दुवै देशका नागरिकलाई बिनाभिसा आवतजावत तथा काम गर्ने सुविधा रहेकाले ठूलो सङ्ख्यामा भारतीय नागरिक नेपालमा कार्यरत रहेको बताए। यही क्रममा उनीहरू पछिल्लो विपद्को चपेटामा परेको उनको भनाइ छ।












