भोटेकोशी बाढीपीडितका लागि कलाकर्मीको साथ, ६० लाखभन्दा बढी नगद सहयोग
काठमाडौं।भाद्र १० गते भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाली कलाकर्मीहरूले पनि सहयोगको हात बढाएका छन्।
बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सरकारले राहत तथा पुनःस्थापनाको कामलाई व्यवस्थित बनाउन एकद्वार प्रणालीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न आग्रह गरेको छ। सोहीअनुसार विभिन्न कलाकार तथा चलचित्र टिमले कोषमा नगद सहयोग गरेका छन्।
![]()


उपलब्ध सार्वजनिक विवरणअनुसार कन्दरा ब्याण्डका विवेक श्रेष्ठले २१ लाख रुपैयाँ, फिल्म ‘पार्वती’ टिमले झण्डै १२ लाख रुपैयाँ र गायक सुशान्त केसीले १० लाख रुपैयाँ सहयोग गरेका छन्।
त्यस्तै, पारस बम ठकुरी ‘कुल ब्वाय’ले ५ लाख, दीपकराज गिरी र दीपाश्री निरौलाले ३ लाख, अभिनेत्री वर्षा शिवाकोटीले ३ लाख, भुवन–बसुन्धरा–चैत्य फाउण्डेशनले ३ लाख तथा फिल्म ‘बा ए योद्धा’ टिम र मह जोडीले २–२ लाख रुपैयाँ सहयोग गरेका छन्।

विराज भट्टले १ लाख ५१ हजार, गीतकार संघ नेपालले १ लाख १५ हजार, रचना रिमाल, बेनिशा पौडेल, मेलिना राई र प्रकाश सपूतले १–१ लाख रुपैयाँ सहयोग गरेका छन्।
यस्तै, बिनिता कार्कीले ६१ हजार २४२ रुपैयाँ, माल्भिका सुब्बा, शान्तिश्री परियार, टीका सानु र गोविन्द शाहीले ५०–५० हजार रुपैयाँ तथा सुशील पोखरेलले ३३ हजार ३३३ रुपैयाँ सहयोग गरेका छन्।
शिव परियार, एलिना चौहान, चन्द्र शर्मा, दीपिका व्याम्बु, प्रताप दास र अर्जुन सापकोटाले २५–२५ हजार रुपैयाँ तथा राधिका हमालले २१ हजार रुपैयाँ सहयोग गरेको विवरणमा उल्लेख छ। रामकृष्ण ढकालले ११ हजार रुपैयाँ र फिल्म ‘युग’ टिमले १ लाख १ हजार रुपैयाँ सहयोग गरेका छन्।
नगदसँगै प्रत्यक्ष राहतमा पनि सक्रिय
कलाकारहरूको सहयोग आर्थिक सहयोगमा मात्र सीमित छैन। पल शाह, दीपाश्री निरौलालगायत विभिन्न कलाकर्मी प्रभावित क्षेत्रमा पुगेर खाद्यान्न, लत्ताकपडा तथा अन्य आवश्यक सामग्री वितरणमा समेत सक्रिय भएका छन्।
अभिनेता निखिल उप्रेतीले आफ्नो फिल्मको एक शो च्यारिटीका रूपमा प्रदान गर्ने घोषणा गरेका छन्।
विपद्का बेला मनोरञ्जन क्षेत्रमा आबद्ध कलाकार तथा चलचित्रकर्मीहरूले आर्थिक सहयोगसँगै प्रभावित नागरिकको प्रत्यक्ष राहतमा समेत सहभागिता जनाएका छन्। यसले विपद्का समयमा कलाकर्मीहरूको सामाजिक उत्तरदायित्वप्रतिको सक्रियता देखाएको छ।
उल्लेखित रकमहरू सार्वजनिक रूपमा उपलब्ध विवरणमा आधारित छन्।












