भोटेकोशी बाढी जलवायु परिवर्तनको परिणाम : प्रधानमन्त्री शाह
काठमाडौं।प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी जलवायु परिवर्तनका कारण सिर्जित विपत्तिको गम्भीर उदाहरण भएको बताउनुभएको छ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै गएको र त्यसले यस्ता प्राकृतिक विपत्तिको जोखिम थप बढाएको उल्लेख गर्नुभयो। उहाँले भोटेकोशीमा आएको बाढी हिमालय क्षेत्रमा हिउँ–चट्टानको हिमपहिरोबाट सिर्जित ठूलो विपत्ति हुनसक्ने विज्ञहरूको भनाइ रहेको बताउनुभयो।
![]()


प्रधानमन्त्री शाहका अनुसार हिमनदीको ठूलो भाग उच्च स्थानबाट खस्दा उत्पन्न ऊर्जाका कारण बरफ पग्लिएर पानीसँग मिसिन गई ठूलो बाढीको रूप लिएको हुनसक्ने अनुमान गरिएको छ। यस घटनाले ‘हिउँ–चट्टान किन खस्यो र यति धेरै पानी कसरी आयो?’ भन्ने प्रश्नको वैज्ञानिक जवाफ खोज्नुपर्ने आवश्यकता देखाएको उहाँको भनाइ छ।
उहाँले नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेका विपत्तिका विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा उठाउनुपर्ने समय आएको बताउनुभयो।

बाढीपछि सरकार खोज तथा उद्धारबाट राहत हुँदै पुनःस्थापनातर्फ अघि बढिरहेको प्रधानमन्त्री शाहले जानकारी दिनुभयो। नुवाकोटका १९ वटा अस्थायी आश्रयस्थलमा २ हजार ६५३ जनाले आश्रय तथा राहत पाइरहेका छन् भने रसुवाका प्रभावितलाई समेत नुवाकोटमा आश्रय र राहत उपलब्ध गराइएको छ।
यसैबीच, बाढीपछि नेपाललाई विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाबाट राहत र आर्थिक सहयोग प्राप्त हुने क्रम जारी रहेको प्रधानमन्त्री शाहले बताउनुभएको छ। भारतबाट ६८.५ टन राहत तथा उद्धार सामग्री र ११ सदस्यीय उद्धार टोली नेपाल आएको छ। चीनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० करोड रुपैयाँ सहयोग गर्नुका साथै ५० टन राहत सामग्री उपलब्ध गराएको छ।
पाकिस्तानबाट ८६ टन राहत सामग्री आउँदैछ भने श्रीलङ्काले १० लाख अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। अमेरिकाले ५ लाख, अष्ट्रेलियाले १० लाख र यूएईले १ करोड अमेरिकी डलरसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रधानमन्त्री शाहले जानकारी दिनुभएको छ।
त्यस्तै, एडीबी, विश्व बैंक, स्विट्जरल्यान्ड, कतार, जापान, बेलायत, युरोपेली सङ्घ तथा संयुक्त राष्ट्रसङ्घका निकायबाट समेत राहत, आर्थिक तथा प्राविधिक सहयोग प्राप्त भइरहेको उहाँले उल्लेख गर्नुभएको छ













