आइएमई लाइफ इन्स्योरेन्सद्वारा बाढीपीडितका लागि १ करोड सहयोग घोषणा – Sagarmathapana:: Online News Portal

आइएमई लाइफ इन्स्योरेन्सद्वारा बाढीपीडितका लागि १ करोड सहयोग घोषणा

   २०८३ भाद्र ११ गते  

काठमाडौं।भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत नदी तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गहिरो दुःख व्यक्त गरेको छ ।

बाढी तथा डुबानका कारण ठूलो संख्यामा नागरिकले ज्यान गुमाउनुका साथै कैयौँ बेपत्ता भएका छन् भने बस्ती तथा भौतिक पूर्वाधारमा समेत व्यापक क्षति पुगेको छ । विपद्का कारण प्रभावित तथा विस्थापित परिवारप्रति कम्पनीले सहानुभूति प्रकट गरेको छ ।

प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

कम्पनीका अनुसार उक्त सहयोगबाट बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, खाद्यान्न वितरण, स्वास्थ्य उपचार र पुनःस्थापनालगायतका कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

आइएमई लाइफले यसअघि पनि विभिन्न प्राकृतिक विपद्, संकट तथा महामारीका समयमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको जनाएको छ ।

कम्पनीले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै, बेपत्ताको शीघ्र खोजी, घाइतेको स्वास्थ्यलाभ तथा उद्धार र राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै