कुवेत आक्रमणमा ज्यान गुमाएका सोमकुमार तामाङको शव आज नेपाल ल्याइँदै
काठमाडौं।उत्तरी कुवेतमा गत बिहीबार भएको ड्रोन आक्रमणमा ज्यान गुमाएका तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको पार्थिव शरीर आज कुवेत एयरवेजमार्फत नेपाल ल्याइँदै छ। परराष्ट्र मन्त्रालयका अनुसार कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग समन्वय गरी शव स्वदेश पठाउने सम्पूर्ण प्रक्रिया पूरा गरेको हो।
सरकारले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत तामाङप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको जनाएको छ। साथै विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र आवश्यक समन्वयका लागि सरकार प्रतिबद्ध रहेको पनि मन्त्रालयले उल्लेख गरेको छ।
उक्त आक्रमणपछि कुवेतस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई स्थानीय सुरक्षा निकायका निर्देशन पालना गर्न, सुरक्षित स्थानमा रहन र सतर्कता अपनाउन आग्रह गरेको छ।












