सर्वोच्चमा मुद्दा विचाराधीन हुँदाहुँदै शेयर खरिदको प्रचारप्रति दुई संस्थाको आपत्ति – Sagarmathapana:: Online News Portal

सर्वोच्चमा मुद्दा विचाराधीन हुँदाहुँदै शेयर खरिदको प्रचारप्रति दुई संस्थाको आपत्ति

   २०८३ श्रावण १६ गते  

धरान।सर्वोच्च अदालतमा सार्वजनिक सरोकारको मुद्दा विचाराधीन रहेको अवस्थामा भोटखोला गाउँपालिकाले जलविद्युत् कम्पनीको शेयर खरिदसम्बन्धी सूचना आफ्नो आधिकारिक लेटरप्याडबाट प्रकाशित गरेको भन्दै दुई संस्थाले गम्भीर ध्यानाकर्षण गराएका छन्।

छ्याम्ताङ–काठमाडौं कल्याण समाज र ल्होमिशिङ्सा कल्याण केन्द्र ले छुट्टाछुट्टै जारी गरेको ध्यानाकर्षण तथा अपिलमार्फत गाउँपालिकाको उक्त कदम गैरजिम्मेवार, सार्वजनिक निकायको मर्यादाविपरीत र स्थानीय नागरिकलाई अनावश्यक लगानी जोखिमतर्फ प्रेरित गर्ने कार्य भएको बताएका छन्।


संस्थाहरूका अनुसार साङ्ग्रिला ऊर्जा लिमिटेडसँग सम्बन्धित छुङछुङ र छुन्जाम खोलाको जलविद्युत् परियोजनाविरुद्ध सर्वोच्च अदालतमा दुई वटा सार्वजनिक सरोकारका मुद्दा विचाराधीन छन्। यस्तो अवस्थामा स्थानीय सरकार स्वयंले कम्पनीको शेयर खरिद गर्न सार्वजनिक सूचना जारी गर्नु उचित नभएको उनीहरूको भनाइ छ।

ध्यानाकर्षण पत्रमा गाउँपालिकाले निजी कम्पनीको व्यावसायिक हित प्रवर्द्धन गर्नुभन्दा स्थानीय नागरिकको अधिकार, प्राकृतिक सम्पदा, जैविक विविधता तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ। साथै, विवाद समाधान नभएसम्म शेयर खरिदका लागि प्रेरित गर्ने सूचना तत्काल फिर्ता लिन र सार्वजनिक रूपमा क्षमायाचना गर्न माग गरिएको छ।

दुवै संस्थाले स्थानीयवासीलाई विवादित कम्पनीको शेयर खरिद नगर्न आग्रह गर्दै सम्भावित आर्थिक जोखिमप्रति सचेत रहन अपिल गरेका छन्। उनीहरूले सर्वोच्च अदालतबाट अन्तिम निर्णय नआउँदासम्म कुनै पनि लगानीको निर्णय गर्दा विशेष सावधानी अपनाउनुपर्ने बताएका छन्।

यसअघि भोटखोला गाउँपालिकाले आफ्नो आधिकारिक लेटरप्याड प्रयोग गर्दै साङ्ग्रिला ऊर्जा लिमिटेडको शेयर खरिदसम्बन्धी सूचना सार्वजनिक गरेको थियो। उक्त कदमको वैधानिकता, नैतिकता तथा स्थानीय सरकारको भूमिकामाथि अहिले प्रश्न उठ्न थालेको छ।



फेसबुकबाट तपाईको प्रतिक्रिया सबै