सप्तरीमा आज सामाजिक तथा धार्मिक सद्भाव र्याली, सबै समुदायलाई सहभागिताको आह्वान
राजविराज।सामाजिक तथा धार्मिक सद्भाव कायम राख्ने उद्देश्यले सप्तरीमा आज (आइतबार) सामाजिक सद्भाव र्याली आयोजना गरिने भएको छ।
नेपाल पत्रकार महासंघ सप्तरीमा शुक्रबार बसेको बैठकले शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड)को आयोजनामा र्याली निकाल्ने निर्णय गरेको हो। र्याली बिहान ८ बजे राजविराजस्थित शिव मन्दिर प्राङ्गणबाट सुरु हुने जनाइएको छ।
पापडले जारी गरेको विज्ञप्तिमा सुनसरी र सिराहामा हालै भएका घटनापछि सप्तरीमा सामाजिक सद्भाव र शान्तिपूर्ण वातावरण कायम राख्न सबैको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै सबै जातजाति, धर्म, संस्कृति तथा विभिन्न क्षेत्रका नागरिकलाई र्यालीमा सहभागी हुन आग्रह गरेको छ।
बैठकले गोली लागेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा कुनै कमी हुन नदिन सरकारसँग माग गरिएको छ।
यसैबीच, जिल्लामा देखिएको खाना पकाउने ग्यास र इन्धनको अभाव तत्काल समाधान गरी आपूर्ति सहज बनाउन स्थानीय प्रशासनसँग आग्रह गर्ने निर्णयसमेत गरिएको नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले जानकारी दिएका छन्।












