मिस नेपाल २०२६ को ताज दीपमाला ढकाललाई, आर्या निशान्त र कशिश सुब्बा पनि विजेता – Sagarmathapana:: Online News Portal

मिस नेपाल २०२६ को ताज दीपमाला ढकाललाई, आर्या निशान्त र कशिश सुब्बा पनि विजेता

   २०८३ श्रावण १६ गते  

काठमाडौं- मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन्। शनिबार ललितपुरको द प्लाजा पुल्चोकमा आयोजित भव्य ग्राण्ड फिनालेमा उनी मिस नेपाल वर्ल्ड २०२६ घोषित भएकी हुन्।

प्रतियोगितामा आर्या निशान्त मिस नेपाल इन्टरनेशनल तथा कशिश सुब्बा मिस नेपाल कोस्मो घोषित भए। कार्यक्रममा मिस कोस्मो Yolinda Lindqvist सहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्व निर्णायक मण्डलमा सहभागी थिए। प्रतियोगिताको आयोजना द हिडन ट्रेजरले गरेको हो।

दीपमाला यसअघि मिस नेपाल हङकङ इन्टरनेशनल–२०२६ को उपाधि पनि जितिसकेकी छन्। उनी विश्वप्रसिद्ध लगानी व्यवस्थापन कम्पनी BlackRock मा इन्भेस्टमेन्ट स्ट्राटेजिस्टका रूपमा कार्यरत छिन्।

सौन्दर्य प्रतियोगितामा मात्र सीमित नभई दीपमाला ब्ल्याक बेल्ट तेक्वान्दो खेलाडी, रनवे मोडल, अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालक (होस्ट) तथा म्याराथन धाविका समेत हुन्। उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) को इतिहासमै सबैभन्दा कम उमेरमा निर्वाचित सदस्य बनेकी थिइन्।

हाल उनी नेपाल क्यान्सर अस्पतालकी गुडविल एम्बास्डरका रूपमा पनि सक्रिय छिन्। मिस वर्ल्डको अन्तर्राष्ट्रिय मञ्चमार्फत क्यान्सरसम्बन्धी जनचेतना अभियानलाई विश्वव्यापी बनाउने आफ्नो लक्ष्य रहेको उनले बताउँदै आएकी छन्।

दीपमालाको परिवारसँग पनि मिस नेपालको विशेष सम्बन्ध छ। उनकी आमाले सन् १९९४ मा आयोजित पहिलो मिस नेपाल प्रतियोगितामा सहभागिता जनाएकी थिइन्। यसपटक दीपमालाले मिस नेपालको ताज जित्दै त्यो पारिवारिक यात्रालाई नयाँ उचाइमा पुर्‍याएकी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै