मधेशको सुरक्षा सुदृढ गर्न उच्च प्रहरी अधिकृत फिल्डमा,एआईजीदेखि एसएसपीसम्म परिचालन – Sagarmathapana:: Online News Portal

मधेशको सुरक्षा सुदृढ गर्न उच्च प्रहरी अधिकृत फिल्डमा,एआईजीदेखि एसएसपीसम्म परिचालन

   २०८३ श्रावण १६ गते  

काठमाडौं।मधेश प्रदेशसहित सुरक्षा संवेदनशील क्षेत्रको अवस्थालाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न नेपाल प्रहरीले एआईजीदेखि एसएसपी तहसम्मका उच्च प्रहरी अधिकृतलाई विभिन्न जिल्लामा परिचालन गरेको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै उच्च प्रहरी नेतृत्वलाई प्रत्यक्ष रूपमा फिल्डमा खटाइएको हो। परिचालित अधिकृतहरूले सम्बन्धित जिल्लामा प्रहरी जनशक्ति तथा स्रोत–साधनको परिचालनको प्रभावकारिता मूल्याङ्कन गर्ने, आवश्यक निर्देशन दिने, सुरक्षा योजनाको कार्यान्वयनको अनुगमन गर्ने तथा सूचना संकलन र विश्लेषण गर्ने जिम्मेवारी पाएका छन्।

यसका साथै उनीहरूले प्रदेश तथा जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी स्थानीय तहमा देखिएका सुरक्षा चुनौतीको पहिचान गर्ने, नागरिकका गुनासा सुन्ने र परिस्थिति नियन्त्रणबाहिर जान नदिन आवश्यक सुरक्षा व्यवस्थापन गर्नेछन्।

प्रवक्ता काफ्लेले सुरक्षा अवस्थालाई शीघ्र सामान्य बनाउने तथा फिल्डबाट प्राप्त विवरण प्रहरी महानिरीक्षकसमक्ष प्रतिवेदनका रूपमा पेश गर्ने उद्देश्यले यो परिचालन गरिएको जानकारी दिए।

परिचालनअनुसार एआईजी सिद्धिविक्रम शाह बाँके, हिमालयकुमार श्रेष्ठ मधेश प्रदेश, उमाप्रसाद चतुर्वेदी कपिलवस्तु तथा ईश्वर कार्की कोशी प्रदेश र सुनसरीमा खटिएका छन्। यस्तै डीआईजी दिनेशकुमार आचार्य सिराहा र डीआईजी अबिनारायण काफ्ले सप्तरीमा परिचालित भएका छन्।

त्यसैगरी एसएसपी गोपालचन्द्र भट्टराई (सर्लाही), सोमेन्द्रसिंह राठौर (पर्सा), दीपसमशेर जबरा (रौतहट), नवराज अधिकारी (चितवन), कृष्णप्रसाद पंगेनी (महोत्तरी), होबिन्द्र बोगटी (बारा), ज्ञानेन्द्रप्रसाद फुयाँल (मोरङ), भुवनेश्वर तिवारी (धनुषा) तथा अमरेन्द्रबहादुर सिंह मधेश प्रदेशमा परिचालित भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै