किसानको जिवनसंग खेलवाड गर्ने कृषि मन्त्रीले राजिनामा दिनुपर्छ : प्रभु साह
कलैया।आम जनता पार्टी (आजपा)का अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले किसानलाई मलखाद्य उपलब्ध गराउन नसक्ने कृषि मन्त्री गिता चौधरीको राजीनामा माग गरेका छन् ।
आम किसान मोर्चाद्वारा आज (शुक्रबार) बाराको कलैयामा आयोजित `मलखाद्यको हाहाकार : आपूर्तिमा असफल सरकार´ कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषि मन्त्री चौधरीको राजिनामा माग गरेका हुन ।
`यो सरकार किसान मारा सरकार जस्तो भयो । कृषिप्रधान देशको मुख्यवाली धान रोपाईको समयमा अहिले किसानले मलखाद्य पाउन सकिरहेका छैन्न । किसानलाई मलखाद्य दिन नसक्ने मन्त्रीलाई कुर्सीमा बस्ने अधिकार छैन । किसानलाई मलखाद्य दिन नसकने असफल कृषि मन्त्रीले तुरुन्त राजिनामा दिनुपर्छ,´ आजपा अध्यक्ष साहले भने ।
दुईतिहाईको शक्तिशाली सरकार भएपनी किसानले सरकार भएको अनुभुती गर्न नसकेको गुनासो सभागिहरुले गरेपछि आजपा अध्यक्ष साहले यो सरकारलाई असफल हुने छुट नभएको बताउदै किसानका समस्या समाधान गर्नुपर्ने बताए ।
नेपालमा सरकारले किसानलाई मलखाद्य उपलब्ध गराउन नसकेको, किसानका समस्या समाधान गर्न नसकेको बताउदै भारतबाट मलखाद्य ल्याउदा किसानलाई दु:ख दिने काम आफूलाई स्वीकार्य नभएको बताए ।
तराई-मधेसका साथै देशैभरीका किसान अहिले पीडामा रहेपनी प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले किसानलाई केहिपनी नदिने तर छिमेकबाट किसानले मल ल्याउदा खोस्ने अधिकार कसले दियो भन्दै उनले प्रश्न गरे ।
चुनावका बेला ठुलो कुरा गर्ने तर कुर्सीमा पुगेपछि युवा, बिद्यार्थी, किसान लगायतका समस्या समाधान गर्नुको साटो सरकार रमिते बनेको टिप्पणी आजपा अध्यक्ष साहले गरे ।
आम किसान मोर्चा बाराका अध्यक्ष मदन साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आजपा नेता अशोक लामा, संविधान सभाका सदस्य एंव आजपा नेता आत्माराम साह, सुभाष साह, उमेश कुशवाहा, बिजय यादव, विश्वराज पटेल, राजकिशोर साह लगायतका नेताहरूको बिशेष सहभागिता थियो ।













