दुबईको नयाँ अफर : आफन्त र साथी बोलाए ३ हजार दिरामभन्दा बढीको सुविधा
काठमाडौं।दुबईले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विदेशी पर्यटक आकर्षित गर्न नयाँ अभियान सुरु गरेको छ। दुबईको अर्थतन्त्र तथा पर्यटन विभागले ‘ए दुबई इनभाइट’ नामक अभियानमार्फत त्यहाँका बासिन्दालाई आफ्ना परिवारका सदस्य तथा साथीभाइलाई दुबई घुम्न बोलाउन प्रोत्साहित गरेको हो।
अभियानअन्तर्गत जुलाई २० देखि अक्टोबर ३१, २०२६ सम्म दुबई भ्रमणमा आउने पाहुनाका आधारमा योग्य बासिन्दाले ३ हजार दिरामभन्दा बढी मूल्यका विभिन्न सुविधा प्राप्त गर्न सक्नेछन्। यसमा होटल बसाइ, रेस्टुरेन्ट तथा खानाका अफर, पर्यटकीय स्थलका टिकट र अन्य जीवनशैलीसम्बन्धी सुविधाहरू समावेश छन्।


यस योजनामा सहभागी हुन दुबईका योग्य बासिन्दाले आफ्ना विदेशी पाहुनाको विवरण उनीहरू दुबई आउनुअघि अनलाइनमार्फत दर्ता गर्नुपर्नेछ। पाहुना दुबई पुगेपछि आगमन स्वतः प्रमाणीकरण हुने र त्यसपछि सुविधा प्रयोगसम्बन्धी जानकारी इमेलमार्फत उपलब्ध गराइने बताइएको छ।
अभियानमा सहभागी हुन पाहुना यूएईका बासिन्दा नभएको र आवश्यकताअनुसार वैध पर्यटक भिसा वा भिसा अन अराइभलको योग्यता भएको हुनुपर्नेछ। प्राप्त सुविधाहरू अधिकांश अवस्थामा सन् २०२६ को डिसेम्बर ३१ सम्म प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।













