विद्युत् नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताल पुनः नियुक्त – Sagarmathapana:: Online News Portal

विद्युत् नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताल पुनः नियुक्त

   २०८३ श्रावण ८ गते  

काठमाडौँ । सरकारले विद्युत् नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताललाई पुनः नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले धिताललाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

धितालले आफूलाई सरकारले पुनः अध्यक्षमा नियुक्त गरेको जानकारी प्राप्त भएको बताएका छन्। बिहीबार पदभार ग्रहण गर्ने तयारीमा रहेका उनले नियामक निकायको जिम्मेवारीलाई थप प्रभावकारी बनाउन आफू प्रतिबद्ध रहेको प्रतिक्रिया दिएका छन्।

सरकारले ल्याएको अध्यादेशका कारण पदमुक्त भएका धिताल खुला प्रतिस्पर्धाबाट पुनः आयोगको अध्यक्षमा नियुक्त भएका हुन्। उनी यसअघि २०८१ असार ७ गते खुला प्रतिस्पर्धाबाट आयोगको अध्यक्ष नियुक्त भएका थिए।

ऊर्जा क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव भएका धितालले काठमाडौँ विश्वविद्यालयमा अतिथि प्राध्यापक तथा संसद्को पूर्वाधार विकास समितिमा ऊर्जा सल्लाहकारका रूपमा समेत काम गरेका छन्। उनी आयोगको स्थापनाकालमा सदस्यका रूपमा दुई वर्ष कार्यरत रहेपछि खुला प्रतिस्पर्धाबाट अध्यक्ष बनेका थिए।

धितालले त्रिभुवन विश्वविद्यालयअन्तर्गत पुल्चोक क्याम्पसबाट सिभिल इन्जिनियरिङमा स्नातक, जर्मनीको ओल्डेनवर्ग विश्वविद्यालयबाट नवीकरणीय ऊर्जा इन्जिनियरिङमा स्नातकोत्तर तथा पुल्चोक क्याम्पसबाटै सोही विषयमा विद्यावारिधि गरेका छन्। उनले विभिन्न अन्तर्राष्ट्रिय संस्थाबाट विद्युत् प्रणाली नियमन, सेवा प्रदायकको नियमन, रणनीति, दिगो विकास तथा ऊर्जा लगानीसम्बन्धी उच्चस्तरीय तालिमसमेत लिएका छन्।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकका रूपमा चार वर्ष काम गरेका धितालको कार्यकालमा नेपालका १० लाखभन्दा बढी घरधुरीमा नवीकरणीय ऊर्जा प्रविधिको पहुँच विस्तार भएको बताइन्छ।

विद्युत् बजार सुधार, खुला पहुँच, महसुल निर्धारण र प्रसारण शुल्कलगायतका विषयमा समेत काम गरेका धितालले आयोगको प्रशासनिक, आर्थिक तथा खरिदसम्बन्धी विनियमावली निर्माण र स्थायी कर्मचारी संरचना विकासमा भूमिका निर्वाह गरेका थिए।

उनले नेपालसहित अफगानिस्तान, यमन र भानुआटुलगायतका देशमा ऊर्जा नीति तथा ग्रामीण विद्युतीकरणका क्षेत्रमा काम गरेका छन्। साथै एसियाली विकास बैंक, विश्व बैंक, संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय सौर गठबन्धनमा वरिष्ठ परामर्शदाताका रूपमा समेत काम गरेको अनुभव उनीसँग छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै