बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार बराबरका नक्कली नोट बरामद – Sagarmathapana:: Online News Portal

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार बराबरका नक्कली नोट बरामद

   २०८३ असार ३१ गते  

काठमाडौं।रुपन्देहीको बुटवलबाट नक्कली नेपाली नोट छाप्ने तथा कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ६ लाख २२ हजार रुपैयाँ बराबरका एक हजार दरका ६२२ थान नक्कली नेपाली नोट बरामद भएको प्रहरीले जनाएको छ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले बुटवल उपमहानगरपालिका–६, नेपालगञ्ज रोडस्थित एक पसलमा छापा मारेर गिरोहलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बुटवल–११ की गंगा कुमारी पुर्वछाने, कास्कीका किरणकृष्ण तिवारी, कपिलवस्तुका सञ्जय थारु, भक्तपुरका रामचन्द्र खत्री, दोलखाका पासाङ तामाङ तथा भारतको पश्चिम बंगाल, सिलिगुडी निवासी वासुमित्र आनन्द रहेका छन्।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवका अनुसार पक्राउ परेकाहरू बस्दै आएको कोठा तथा पसलमा गरिएको खानतलासीका क्रममा नक्कली नोटसँगै फोटोकपी मेसिन, डेल कम्पनीको ल्यापटप, प्रिन्टर, विशेष कागज, कार्डबोर्ड, लेमिनेसन मेसिन, विभिन्न रासायनिक पदार्थ, प्लास्टिक पेपर, नोट काट्ने मेसिन र ६ थान मोबाइल फोन समेत बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ परेका सबैमाथि मुद्रा सम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै