नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त, १,१०० आवेदकमध्ये छनोट – Sagarmathapana:: Online News Portal

नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त, १,१०० आवेदकमध्ये छनोट

   २०८३ असार ३१ गते  

काठमाडौं।नेपाल पर्यटन बोर्डको बोर्ड सदस्य छनोट समितिले खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत निजी क्षेत्रबाट पाँच जना बोर्ड सदस्य नियुक्त गरेको छ ।

नियुक्त हुने बोर्ड सदस्यहरूमा सन्तोष पोखरेल, श्रीजना के.सी, पेम्बा शेर्पा, खुमबहादुर सुवेदी तथा डा. शोभिता श्रेष्ठ ढकाल रहेका छन् । पर्यटन ऐन तथा प्रचलित कानुनी व्यवस्थाअनुसार गठित बोर्ड सदस्य छनोट समितिले खुला आवेदन प्रक्रियामार्फत प्राप्त आवेदनहरूको मूल्याङ्कनपछि उहाँहरूलाई बोर्ड सदस्यका रूपमा नियुक्त गरेको हो ।

नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त

बोर्ड सदस्यका लागि गरिएको खुला आह्वानमा देशभरबाट करिब एक हजार एक सय (१,१००) जनाको आवेदन परेको थियो । प्राप्त आवेदनहरूको योग्यता, व्यावसायिक अनुभव, पर्यटन क्षेत्रमा पुर्‍याएको योगदान, नेतृत्व क्षमता तथा समग्र दक्षताको आधारमा छनोट प्रक्रिया सम्पन्न गरिएको बोर्डले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार निजी क्षेत्रको प्रभावकारी प्रतिनिधित्व सुनिश्चित गर्दै पर्यटन क्षेत्रको नीति निर्माण, गन्तव्य प्रवर्द्धन, लगानी प्रवर्द्धन तथा सार्वजनिक–निजी साझेदारीलाई थप सुदृढ बनाउने उद्देश्यले खुला, प्रतिस्पर्धात्मक र पारदर्शी प्रक्रियाबाट बोर्ड सदस्य चयन गरिएको हो ।

नेपाल पर्यटन बोर्डले नवनियुक्त बोर्ड सदस्यहरूको अनुभव, विज्ञता र नेतृत्वले नेपालको पर्यटन क्षेत्रको दिगो विकास, अन्तर्राष्ट्रिय प्रवर्द्धन, निजी क्षेत्रसँगको सहकार्य विस्तार तथा पर्यटन उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै