कवाडी प्रकरणमा ‘सेटिङ’को आरोप : २७ ट्रकपछि थप अनुसन्धानको माग,रोशन चौधरी समूहमाथि प्रश्न
काठमाडौं।बिलबिजक तथा आवश्यक कागजातबिना कवाडी सामग्री ढुवानी भइरहेको आशंकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गत साता नियन्त्रणमा लिएका २७ वटा कवाडी बोकेका ट्रक राजस्व अनुसन्धान विभागमा बुझाएपछि यस प्रकरणले नयाँ मोड लिएको छ।
प्रहरी स्रोतका अनुसार नियन्त्रणमा परेका ट्रकमध्ये केही रोशन चौधरी समूहसँग सम्बन्धित हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको छ। यस विषयमा सम्बन्धित निकायले आवश्यक कागजात, स्वामित्व र आर्थिक कारोबारको विवरण संकलन गरी अनुसन्धान अघि बढाइरहेको जनाएको छ।


यसैबीच कवाडी व्यवसायी सरोज श्रेष्ठ, धर्मेन्द्र झा, दीपु चौधरीलगायतले रोशन चौधरीको पक्षमा विभिन्न निकायमा ‘सेटिङ’ गरेर नियन्त्रणमा परेका ६ वटा ट्रक छुटाइएको तथा बाँकी ट्रकहरू पनि छुटाउने प्रयास भइरहेको छन्। उनीहरूले प्रभाव र पहुँचका आधारमा अनुसन्धान प्रभावित पार्ने, राजस्व छलीसम्बन्धी विषय ओझेलमा पार्ने तथा अवैध गतिविधिलाई संरक्षण दिने प्रयास भइरहेको दाबी गरेका छन्।अन्य कवाडी व्यवसायीहरूले पनि नियन्त्रणमा लिइएका २७ ट्रकको मात्र नभई कवाडी व्यवसायसँग सम्बन्धित सम्पूर्ण आर्थिक कारोबार, अवैध असुलीको सम्भावित सञ्जाल तथा संलग्न व्यक्ति र कम्पनीमाथि निष्पक्ष र गहिरो छानबिन गर्न सरकारसँग माग गरेका छन्।

व्यवसायीहरूले केही पत्रकारलाई समेत रोशन चौधरी निकट व्यक्तिहरूले समाचार हटाउन वा प्रकाशन नगर्न दबाब दिने प्रयास गरेको आरोप लगाएका छन्। यद्यपि, यस आरोपबारे सम्बन्धित पक्षबाट कुनै सार्वजनिक प्रतिक्रिया आएको छैन।
राजस्व अनुसन्धान विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले भने नियन्त्रणमा लिइएका ट्रक, सम्बन्धित कम्पनी तथा संलग्न व्यक्तिमाथि आवश्यक अनुसन्धान जारी रहेको बताएका छन्।
यसैबीच रोशन चौधरीका पिता बाबुनन कलवार चौधरीमाथि भारतीय नागरिक हुँदाहुँदै झुटा विवरणका आधारमा नेपाली नागरिकता लिएको अभियोगमा अनुसन्धान भई मुद्दा विचाराधीन रहेको दाबी पनि सार्वजनिक भएको छ।
त्यसैगरी, रोशन चौधरीमाथि गत वर्ष २२ ग्राम खैरो हेरोइनसहित पक्राउ परेपछि लागूऔषधसम्बन्धी मुद्दामा अनुसन्धान भएको र पछि अदालतको अन्तरिम आदेशपछि रिहा भएको तथ्य पनि सार्वजनिक अभिलेखमा रहेको बताइएको छ।












