नेपाल अब दुई होइन, तीन ढुङ्गाबीचको तरुल’ : परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ – Sagarmathapana:: Online News Portal

नेपाल अब दुई होइन, तीन ढुङ्गाबीचको तरुल’ : परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ

   २०८३ असार २८ गते  

काठमाडौं।परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले अमेरिकी सहयोग परियोजना (एमसिसी) पारित हुनु र नेपाली सेनासँग सम्बन्धित एसपिपी (SPP) विषयले नेपालको भूराजनीतिक अवस्था थप जटिल बनेको टिप्पणी गरेका छन्। उनले अब नेपाललाई ‘दुई ढुङ्गाबीचको तरुल’ नभई ‘तीन ढुङ्गाबीचको तरुल’को अवस्थामा पुगेको बताएका हुन्।

शनिबार नेपाल बुद्धिजीवी संगठनद्वारा आयोजित ‘नेपालको भूराजनीतिमा छिमेकी सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले नेपालको संवेदनशील भूराजनीतिक अवस्थालाई सन्तुलित कूटनीतिबाट व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याए।

उनले नेपाल सानो र संवेदनशील राष्ट्र भए पनि यसको स्वतन्त्र अस्तित्व महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यस अस्तित्वमाथि कुनै चुनौती आए त्यसको प्रभाव छिमेकी मुलुकहरूमा समेत पर्ने बताए।

श्रेष्ठले नेपाललाई कुनै पनि शक्ति राष्ट्रबीचको प्रतिस्पर्धा वा द्वन्द्वको केन्द्र बन्न नदिन आग्रह गर्दै नेपालको भूमिलाई कुनै पनि मुलुकविरुद्ध प्रयोग हुन नदिनुपर्ने धारणा राखे। उनका अनुसार नेपाललाई शान्ति, सहअस्तित्व र सन्तुलित परराष्ट्र नीतिमा आधारित राष्ट्रका रूपमा अघि बढाउन आवश्यक छ।

उनले नेपाललाई ‘शान्ति क्षेत्र’का रूपमा पुनः स्थापित गर्नुपर्ने प्रस्ताव दोहोर्‍याउँदै अमेरिका, चीन र भारतले समेत नेपालको शान्तिपूर्ण भूमिकालाई समर्थन गर्ने वातावरण बनाउनुपर्ने बताए। भारतले पनि आफ्नो रणनीतिक सोचभन्दा माथि उठेर नेपाललाई शान्ति क्षेत्रका रूपमा समर्थन गर्ने समय आएको उनको भनाइ थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै