कमेडियन सुमन कोइरालाको फिल्म डेब्यु,‘तिरिमिरी झ्याइँ’को छायाङ्कन सुरु हुँदै
काठमाडौं।चर्चित कमेडियन सुमन कोइरालाले हास्यव्यङ्ग्यात्मक चलचित्र ‘तिरिमिरी झ्याइँ’ मार्फत ठूलो पर्दामा डेब्यु गर्ने भएका छन्। होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको शुभमुहूर्त सम्पन्न भएसँगै आगामी असार २९ गतेदेखि छायाङ्कन सुरु हुने तयारी गरिएको छ।
आभास अधिकारीको कथा तथा अवधारणामा निर्माण हुन लागेको चलचित्रको निर्देशन समीरले गर्नेछन्। निर्देशक समीरले चलचित्रले सुरुदेखि अन्त्यसम्म दर्शकलाई भरपूर मनोरञ्जन दिने विश्वास व्यक्त गरेका छन्।
निर्माता प्रद्युम्न बोगटी (प्रबिन)ले पारिवारिक स्वादको उत्कृष्ट कमेडी चलचित्र निर्माण गर्ने लक्ष्य रहेको बताए। कार्यकारी निर्माता तथा कथाकार आभास अधिकारीका अनुसार समाजमा घट्ने रमाइला, व्यङ्ग्यात्मक र ठट्यौली घटनालाई चलचित्रमार्फत दर्शकमाझ प्रस्तुत गरिनेछ।
चलचित्रमा सुमन कोइरालाको अभिनय डेब्युलाई विशेष रूपमा हेरिएको छ। निर्माण टिमले कलाकार तथा प्राविधिक टोलीबारे थप विवरण भने छायाङ्कन सुरु हुने क्रममा सार्वजनिक गर्ने जनाएको छ।












