असार २८ मा ‘लुम्बिनी वास्तु सम्मेलन–२०८३’ आयोजना हुँदै
काठमाडौं।सनातन वास्तु परम्पराको संरक्षण, अध्ययन, अनुसन्धान तथा प्रवर्द्धन गर्ने उद्देश्यले दक्षिण एसियाली ज्योतिष महासंघ, लुम्बिनी प्रदेश समितिले असार २८ गते ‘लुम्बिनी वास्तु सम्मेलन–२०८३’ आयोजना गर्ने भएको छ। सम्मेलनमा वास्तु क्षेत्रका विज्ञ, ज्योतिषाचार्य, इन्जिनियर, आर्किटेक्ट तथा सरोकारवालाबीच ज्ञान आदान–प्रदान र समसामयिक विषयमा गहन छलफल गरिने आयोजकले जनाएको छ।
सम्मेलनका क्रममा वास्तुसम्बन्धी विभिन्न कार्यपत्र प्रस्तुत गरिनुका साथै विशेषज्ञबीच अन्तरक्रिया, वास्तु तथा ज्योतिष क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान तथा सम्मेलनको निष्कर्षस्वरूप ‘लुम्बिनी घोषणा–पत्र’ सार्वजनिक गरिने कार्यक्रम रहेको छ। आयोजकका अनुसार सम्मेलनमा २५० भन्दा बढी सहभागीको उपस्थिति रहने अपेक्षा गरिएको छ।












