वामपन्थी नेता कन्दङ्वा सहितका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश
झापा । झापाका पुराना बामपंथी नेता लोकबन्धु कन्दङ्वासहित सयौं नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
माओवादी केन्द्र झापाले बिर्तामोडमा गरेको राजनीति प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । कन्दङ्वा दुई वर्षअघि नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यबाट राजीनामा दिएर स्वतन्त्र बामपंथी बुद्धिजीवीको रुपमा सकृय रहेका थिए ।
उनीहरूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका हुन् । प्रवेश गर्नेमा एमालेका जिल्ला तथा नगरस्तरीय नेता रहेका छन् । त्यसैगरी, जसपाको विद्यार्थी संगठनका ६४ जना माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)मा समायोजन भएका छन् ।
माओवादी केन्द्र प्रवेश गर्नुभएका कन्दङ्वा जनताको भावना र ऐजेण्डा बुझेर आफ्नो कार्यदिशा तय गर्ने पार्टी माओवादी केन्द्र भएको र आज मुलुक जुन ठाउँमा छ, त्यो माओवादीका कारण संभव भएको बताए । उनले माओवादीसित एजेन्डाको कमी नभएको र त्यसको कार्यान्वयन भए माओवादीलाई कसैले छुन नसक्ने बताए ।












