फोटो पत्रकारका समस्या समाधानमा सभामुखको प्रतिबद्धता
काठमाडौं-राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को एक प्रतिनिधिमण्डलले सभामुख डीपी अर्याल सँग भेट गरी फोटो पत्रकारहरूले संसदीय रिपोर्टिङका क्रममा भोगिरहेका समस्याबारे ध्यानाकर्षण गराएको छ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको उक्त भेटमा एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्त को नेतृत्वमा पदाधिकारीहरू सहभागी थिए। टोलीले विशेषगरी संसद् परिसरभित्र काम गर्दा भोग्नुपरेका व्यावहारिक कठिनाइहरूबारे जानकारी गराउँदै समाधानका लागि सहजीकरणको माग गरेको थियो।


अध्यक्ष वन्तले फोटो पत्रकारहरूलाई रिपोर्टिङका क्रममा सहज वातावरण उपलब्ध गराउन सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको उल्लेख गरे। उनले संसद् परिसरमा फोटो खिच्ने, आवतजावत र पहुँचसँग सम्बन्धित समस्याहरू अझै कायम रहेको बताए।
जवाफमा सभामुख अर्यालले हाल संसद् सञ्चालन भइरहेको स्थान अस्थायी भएकाले केही समस्या देखिएको स्वीकार गरे। उनले नयाँ संसद् भवन निर्माण कार्य तीव्र रूपमा अगाडि बढिरहेको जानकारी दिँदै छिट्टै नयाँ भवनबाट बैठक सञ्चालन गर्ने योजना रहेको बताए।


सभामुख अर्यालले नयाँ भवन सञ्चालनमा आएपछि फोटो पत्रकारहरूले भोग्दै आएका अधिकांश समस्या समाधान हुने विश्वास व्यक्त गरे। साथै, फोटो पत्रकारहरूको पेशागत हकहित र कार्यसुविधा सुनिश्चित गर्न आफू सकारात्मक रहेको र आवश्यक सहयोगका लागि प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।














