कर्मचारीलाई अर्थमन्त्री वाग्लेको कडा सन्देश: “दायाँ–बायाँ सह्य हुँदैन, नतिजा दिनैपर्छ” – Sagarmathapana:: Online News Portal

कर्मचारीलाई अर्थमन्त्री वाग्लेको कडा सन्देश: “दायाँ–बायाँ सह्य हुँदैन, नतिजा दिनैपर्छ”

   २०८३ बैशाख ४ गते  

काठमाडौं।अर्थमन्त्री स्वर्णिम वाग्ले ले कर्मचारीतन्त्रलाई कार्यसम्पादनमा कुनै पनि प्रकारको लचकता नदेखाउन कडा निर्देशन दिनुभएको छ। उहाँले स्पष्ट रूपमा चेतावनी दिँदै “काममा दायाँ–बायाँ गर्ने छुट कसैलाई छैन” भन्नुभयो।

सरकारले अघि सारेको सुशासनको उच्च मापदण्डलाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै मन्त्री वाग्लेले कर्मचारीलाई इमानदार, जिम्मेवार र नतिजामुखी बन्न आग्रह गर्नुभयो। कार्यक्षमतामा कमजोरी देखिए मन्त्रीहरू नै हटाइने उदाहरण प्रस्तुत गर्दै उहाँले कर्मचारीहरू अझ बढी उत्तरदायी हुनुपर्ने बताउनुभयो।

मन्त्री वाग्लेले सरकारको ध्यान ‘म्याक्रो’ र ‘माइक्रो’ दुवै तहको सुशासनमा केन्द्रित रहेको जानकारी दिनुभयो। उहाँका अनुसार नीतिगत भ्रष्टाचार, संस्थागत कब्जा तथा स्वार्थ समूहको प्रभाव अन्त्य गर्न सरकार कठोर रूपमा अघि बढ्नेछ।

त्यस्तै, नागरिकले दैनिक रूपमा भोग्ने सास्ती कम गर्न ‘माइक्रो सुशासन’ लागू गरिने बताउँदै राहदानी, सवारी चालक अनुमतिपत्रजस्ता सेवामा हुने ढिलासुस्ती हटाउन डिजिटल प्रविधिको प्रयोग बढाइने उहाँले बताउनुभयो।

दण्डहीनता अन्त्य गर्न शून्य सहनशीलताको नीति अवलम्बन गरिने उल्लेख गर्दै उहाँले राज्यको प्रणालीअनुसार नचल्ने जो–कोहीलाई कारबाही गरिने चेतावनी समेत दिनुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै