प्रदेशस्तरीय सञ्चार निकायसँग प्रेस काउन्सिल नेपालको परामर्श बैठक सम्पन्न
काठमाडौं।प्रेस काउन्सिल नेपाल को आयोजनामा प्रदेशस्तरीय सञ्चारसम्बद्ध निकायसँग परामर्श बैठक सम्पन्न भएको छ । बैठकमा सञ्चार क्षेत्रको समन्वय, नियमन र प्रभावकारी कार्यान्वयनका विषयमा व्यापक छलफल गरिएको थियो ।
बैठकमा काउन्सिलका अध्यक्ष डा. कुमार शर्मा आचार्यसहित सदस्यहरु निमा काफ्ले, पदमराज जोशी, बालकृष्ण अधिकारी, भीमलाल श्रेष्ठ, विजयराज अधिकारी र शन्तराम बिडारी सहभागी हुनुहुन्थ्यो । त्यस्तै सदस्य सचिव छविन्द्र पराजुली, लुम्बिनी प्रदेशका सचिव विनोद लामिछाने, बागमती प्रदेश सञ्चार रजिष्टार रेवतीप्रसाद सापकोटा, गण्डकी प्रदेश सञ्चार रजिष्ट्रार बिमला भण्डारी लगायत प्रदेशस्तरीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।



यसैगरी, मधेस प्रदेशका आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्रकुमार खड्गा, मिडिया काउन्सिल मधेस प्रदेशका कार्यवाहक अध्यक्ष सुरेशकुमार यादव, सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी उपसचिव सविना महर्जन पनि बैठकमा सहभागी हुनुभएको थियो ।
बैठकमा सञ्चार क्षेत्रका विद्यमान चुनौतीहरू, प्रदेश र संघीय संरचनाबीचको सहकार्य, मिडिया अनुगमन तथा नियमनलाई थप प्रभावकारी बनाउने विषयमा केन्द्रित छलफल भएको काउन्सिलले जनाएको छ । साथै, प्रेस स्वतन्त्रताको संरक्षण गर्दै जिम्मेवार पत्रकारिताको प्रवर्द्धनमा जोड दिइएको थियो ।


कार्यक्रममा काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाल, प्रवक्ता दीपक खनाल तथा सूचना अधिकारी रामशरण बोहरालगायतको पनि उपस्थिति रहेको थियो ।













