रुकुमबाट विकास र समृद्धिको नयाँ अभियान सुरु गर्छु :पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ – Sagarmathapana:: Online News Portal

रुकुमबाट विकास र समृद्धिको नयाँ अभियान सुरु गर्छु :पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’

   २०८२ फाल्गुन ४ गते  

 

रुकुम । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ ले विद्रोहको आधारभूमि रुकुमबाट अब विकास, निर्माण र समृद्धिको नयाँ अभियान सुरु गर्ने बताउनुभएको छ।

रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१२, कोलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले दलित तथा मगर समुदायको उल्लेख्य बसोबास रहेको क्षेत्रमा लक्षित विशेष कार्यक्रम ल्याइने घोषणा गर्नुभयो। प्रतिनिधिसभा निर्वाचनमा रुकुम पश्चिमबाट उम्मेदवार रहनुभएका प्रचण्डले दलित समुदायको सशक्तिकरणका लागि शक्तिशाली प्राधिकरण गठन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

“हामीले दलित समुदायमा सकारात्मक र दीर्घकालीन परिवर्तन ल्याउने गरी काम गर्नेछौं,” उहाँले भन्नुभयो, “म प्रधानमन्त्री हुँदा दलित विकास प्राधिकरण बनाउने निर्णय गरेका थियौं, तर सरकार ढलेपछि त्यो प्रक्रिया अगाडि बढ्न सकेन। अब म यहाँको उम्मेदवारका रूपमा दलित समुदायको समग्र विकासका लागि पूर्ण शक्ति लगाउनेछु।”

उहाँले दलितहरूको बाहुल्य रहेका क्षेत्रलाई संरक्षित क्षेत्रको रूपमा विकास गरी विशेष अधिकार सुनिश्चित गर्न सकिने धारणा पनि राख्नुभयो।

यसैबीच, पूर्वप्रधानमन्त्री प्रचण्डले रुकुम पूर्वलाई राष्ट्रिय सडक सञ्जालसँग मजबुत रूपमा जोड्ने प्रतिबद्धता जनाउँदै महत्वपूर्ण सडक योजनाहरू अगाडि बढाइने बताउनुभयो। “हामी तकसेरा हुँदै शहीद मार्गबाट आएका छौं। त्यसको स्तरउन्नति गर्नेछौं। तकसेरा–सानीभेरी–उत्तरगंगा–ढोरपाटन–बेनी सडक खण्ड छिचोलेर आवतजावत सहज बनाउनेतर्फ मेरो विशेष ध्यान रहनेछ,” उहाँले भन्नुभयो। निर्वाचित भएपछि उक्त सडकलाई बेनीसम्म स्तरोन्नति गर्दै स्थानीयलाई प्रत्यक्ष लाभ पुग्ने गरी काम गरिने उहाँको भनाइ छ।

जनयुद्धको बलमा संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान प्राप्त भएको स्मरण गराउँदै उहाँले संविधानले दलित, जनजातिलगायत सबै समुदायलाई समान अधिकार सुनिश्चित गरेको उल्लेख गर्नुभयो। “अब फेरि यही भूमिबाट विकास र समृद्धिको नयाँ विगुल फुक्नुपर्छ,” उहाँले जोड दिनुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै