खोटाङमा बिहे भोज खाँदा डेढ सय जना बिरामी, स्वास्थ्यकर्मीको टोलीद्वारा उपचार जारी – Sagarmathapana:: Online News Portal

खोटाङमा बिहे भोज खाँदा डेढ सय जना बिरामी, स्वास्थ्यकर्मीको टोलीद्वारा उपचार जारी

   २०८२ माघ २५ गते  

विज्ञान राई,खोटाङ

खोटाङ।खोटाङको जन्तेढुङ्गा गाउँपालिका–दिप्लुङमा आयोजित बिहे भोज खाँदा बेहुला–बेहुली सहित करिब १ सय ५० जना स्थानीय एकैपटक बिरामी परेका छन्। माघ २१ गते सम्पन्न बिहे भोजमा सहभागीहरूले खाना खाएपछि भोलिपल्टदेखि बान्ता, पखाला र ज्वरो जस्ता लक्षण देखिएपछि उनीहरू बिरामी परेको जनाइएको छ।

भोजका क्रममा फुड पोइजनिङ (खाना विषाक्तता) भएको आशंका गरिएको छ। घटनापछि गाउँपालिका उपाध्यक्ष खेम खड्काको नेतृत्वमा स्वास्थ्य शाखा सहितको टोलीले निगालाबास भञ्ज्याङस्थित रामकुमार राईको घरमा अस्थायी स्वास्थ्य क्याम्प सञ्चालन गरी बिरामीहरूको उपचार गरिरहेको छ।

उपचारमा जनशक्ति अभाव भएपछि जिल्ला स्वास्थ्य कार्यालय खोटाङबाट थप स्वास्थ्यकर्मी र आवश्यक औषधिसहितको टोली खटाइएको उपाध्यक्ष खड्काले जानकारी दिनुभयो। हाल अधिकांश बिरामीको अवस्था सामान्य बन्दै गएको र निरन्तर उपचार तथा निगरानी जारी रहेको जनाइएको छ।

स्थानीय तहले भोजमा प्रयोग भएका खाद्य सामग्रीको नमुना संकलन गरी थप अनुसन्धान गर्ने तयारीसमेत थालेको जनाएको छ। साथै, आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन खाद्य सुरक्षामा विशेष ध्यान दिन स्थानीयलाई आग्रह गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै