धरानमा आजदेखि २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप सुरु, उद्घाटन खेलमा धरान एफसी र जर्जियन एफसी भिड्ने – Sagarmathapana:: Online News Portal

धरानमा आजदेखि २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप सुरु, उद्घाटन खेलमा धरान एफसी र जर्जियन एफसी भिड्ने

   २०८२ माघ २२ गते  

काठमाडौं।सुनसरीको धरानमा आजदेखि २६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ। धरान उपमहानगरपालिका–१६ स्थित धरान रङ्गशालामा दिउँसो २ः०० बजेदेखि प्रतियोगिता औपचारिक रूपमा प्रारम्भ हुन लागेको हो।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लब र भारतको जर्जियन फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। प्रत्येक वर्ष झैँ यसपटक पनि स्वदेशी तथा विदेशी टिमहरूको सहभागिताले प्रतियोगिता थप प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

धरानको खेलकुद पर्यटन प्रवर्द्धन तथा स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको बुढासुब्बा गोल्डकप पूर्वाञ्चल क्षेत्रकै प्रतिष्ठित फुटबल प्रतियोगितामध्ये एक मानिन्छ। प्रतियोगिता अवधिभर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीबीच प्रतिस्पर्धा हुने र दर्शकको उल्लेख्य सहभागिता रहने आयोजकको विश्वास छ।

प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई आकर्षक नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। आयोजकले खेलप्रेमी दर्शकलाई खेलमैदानमा उपस्थित भई खेलाडीहरूको हौसला बढाउनसमेत आग्रह गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै