श्रृङ्खलाबद्ध हत्या नियन्त्रणका लागि मृत्यु दण्डको व्यवस्था गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौं।श्रृङ्खलाबद्ध हत्या तथा जघन्य अपराधका घटनाप्रति चिन्ता व्यक्त गर्दै कानुन संशोधन गरी दोषीलाई मृत्यु दण्डको व्यवस्था गर्न पहल गरिदिन प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पेश गरिएको छ।
ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ नम्बर वडा कार्यालय, भदौरेबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत ज्ञापनपत्र बुझाइएको हो। वडा अध्यक्ष बलराम कटवालको हस्ताक्षर रहेको ज्ञापनपत्रमा पछिल्लो समय भइरहेका जघन्य अपराधका घटनाले नागरिकमा असुरक्षा र त्रास बढाएको उल्लेख गरिएको छ।


ज्ञापनपत्रमा यस्ता अपराध नियन्त्रणका लागि कडा कानुनी व्यवस्था आवश्यक रहेको, दोषीलाई कडा कारबाही सुनिश्चित गर्न कानुन संशोधन गर्नुपर्ने माग गरिएको छ। साथै स्थानीय तहमा सुरक्षा व्यवस्थापन सुदृढ गर्न, प्रहरी चौकी तथा चेकपोस्ट विस्तार गर्न, सडक बत्ती र सीसीटीभी जडान गरी निगरानी बढाउनसमेत सुझाव दिइएको छ।
स्थानीय नागरिक तथा पीडित परिवारको प्रतिनिधित्व गर्दै पेश गरिएको उक्त ज्ञापनपत्रमा सरकारसँग प्रभावकारी सुरक्षा रणनीति अवलम्बन गरी नागरिकको ज्यान–मालको सुरक्षामा ध्यान दिन आग्रह गरिएको वडा कार्यालयले जनाएको छ।












