चितवनमा आठौँ नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो माघ २ देखि
चितवन।कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रीकरण तथा नवीन प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आठौँ नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो २०८२ माघ २ गतेदेखि ४ गतेसम्म भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ।
मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा हुन लागेको यस अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपाल, भारत, चीनलगायत विभिन्न देशका कृषि क्षेत्रसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका १०० भन्दा बढी स्टलहरू रहने आयोजकले जनाएको छ।


प्रदर्शनी सहयोगी संस्था चितवन उद्योग संघका उपाध्यक्ष एवं प्रदर्शनी विभाग प्रमुख गजेन्द्र अधिकारीले एग्रीटेक एक्स्पोको सफलताको शुभकामना व्यक्त गर्दै चितवन प्रदर्शनी केन्द्रमा यसअघि सम्पन्न तथा आगामी दिनमा आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय डेरी एक्स्पो, दशौँ अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी, काडा अटो शो र अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोबारे जानकारी दिनुभयो।
आयोजक संस्था मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रबन्ध निर्देशक श्रीजल भट्टराईले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै एक्स्पोप्रति देशभरका कृषक, कृषि उद्यमी, लगानीकर्ता, सहकारी तथा सरोकारवाला निकायहरूको उल्लेखनीय चासो देखिएको बताउनुभयो। उहाँका अनुसार तीन दिनसम्म चल्ने प्रदर्शनीमा आधुनिक कृषि प्रविधि, उपकरण, उत्पादन तथा सेवाहरूको प्रदर्शन गरिनेछ।


एक्स्पोमा कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाई–भैंसी पालन, डेरी व्यवसाय, कृषिऔजार तथा यन्त्र, पशु स्वास्थ्य तथा पशु चिकित्सा सेवा, खाद्य प्रविधि तथा फुड प्रोसेसिङ, मल, बीउ–बिजन, कीटनाशक, कृषि तालिम तथा वित्तीय समाधानसम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिनेछ। साथै साना कृषिऔजारदेखि डेरी तथा पशुपन्छी उद्योगमा प्रयोग हुने ठूला मेसिनरीसम्मको प्रत्यक्ष प्रदर्शन, डेमो तथा परामर्श सेवा पनि उपलब्ध गराइनेछ।
आयोजकका अनुसार एक्स्पोले कृषि क्षेत्रमा लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण तथा व्यावसायिक सहकार्यका लागि प्रभावकारी प्लेटफर्मको भूमिका खेल्नेछ। यसले नेपालका लागि उपयुक्त नवीनतम कृषि प्रविधि र सेवाको पहिचान गर्दै उत्पादन वृद्धि र दीर्घकालीन रूपमा कृषिउपजमा आत्मनिर्भर बन्ने दिशामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
व्यावसायिक कृषक, एग्रो–उद्यमी, सहकारी, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूका लागि व्यवहारिक ज्ञान, आधुनिक प्रविधिको अवलोकन र नेटवर्किङको महत्वपूर्ण अवसर प्रदान गर्ने यस प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
प्रदर्शनीको प्रवर्द्धक संस्थाको रूपमा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रहेको छ। साथै राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि., राष्ट्रिय कृषक समूह महासंघ–नेपाल, गाउँपालिका राष्ट्रिय महासंघ–नेपाल, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ–नेपाल, कृषि तथा वन विज्ञान विश्वविद्यालय तथा चितवन उद्योग संघ सहयोगी संस्थाका रूपमा रहेका छन्।












