केन्द्रीय दुग्ध सहकारी संघको ३१औँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं।२०८२ साल पुष २८ गते केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड (CDCAN) को ३१औँ वार्षिक साधारण सभा ललितपुरको महालक्ष्मीस्थानस्थित डिलाइट पार्टी भेन्यूमा भव्य रूपमा सम्पन्न भएको छ।
सभाको प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बनियाँ रहनुभएको थियो। उहाँले पानसमा बत्ती बालेर सभाको औपचारिक उद्घाटन गर्नुभएको थियो।


कार्यक्रममा संघका सभापति अम्मर बहादुर कुँवरले स्वागत मन्तव्य व्यक्त गर्दै दुग्ध सहकारी क्षेत्रको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे प्रकाश पार्नुभयो। उहाँले दुग्ध किसानको हित संरक्षण, उत्पादन वृद्धि तथा सहकारी प्रणालीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
साधारण सभामा दुग्ध क्षेत्रसँग सम्बन्धित विविध विषयमा गहन छलफल भएको थियो। दुग्ध उत्पादनको अवस्था, बजार व्यवस्थापन, सहकारी क्षमता अभिवृद्धि, गुणस्तरीय दुग्ध उत्पादन तथा दिगो विकास रणनीतिका विषयमा सहभागीहरूले आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा नेपाल डेरी संघका प्रतिनिधि, दुग्ध विकास संस्थानका प्रबन्धक, राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य डा. राजेन्द्रप्रसाद यादव तथा संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले मन्तव्य व्यक्त गर्नुभयो।


सभामा संघले वार्षिक प्रतिवेदन, आर्थिक विवरण, आगामी कार्ययोजना तथा सदस्य कल्याणका कार्यक्रमहरू प्रस्तुत गरेको थियो। प्रतिवेदनमाथिको छलफलपछि आगामी आर्थिक वर्षका लागि प्रस्तावित कार्यक्रम तथा रणनीतिहरू सर्वसम्मत रूपमा अनुमोदन गरिएको छ।
कार्यक्रमको सञ्चालन संघका महासचिव रामप्रसाद आचार्यले गर्नुभएको थियो।
यस साधारण सभाले दुग्ध सहकारी संघहरूलाई थप सुदृढ बनाउने, सहकारी क्षेत्रको संस्थागत क्षमता विकास गर्ने तथा दुग्ध विकाससम्बन्धी नीतिगत पहलहरूलाई अघि बढाउने प्रतिबद्धता पुनः दोहोर्याएको छ।













