दिक्तेलमा ६० दिने निःशुल्क लोकसेवा तयारी कक्षा सुरु,मेयर भट्टराईद्वारा उद्घाटन – Sagarmathapana:: Online News Portal

दिक्तेलमा ६० दिने निःशुल्क लोकसेवा तयारी कक्षा सुरु,मेयर भट्टराईद्वारा उद्घाटन

   २०८२ पुष १८ गते  

खोटाङ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा ६० दिन सञ्चालन हुने निःशुल्क लोकसेवा तयारी कक्षा आजबाट सुरु भएको छ । कार्यक्रमको औपचारिक उद्घाटन नगरपालिकाका प्रमुख (मेयर) तीर्थराज भट्टराईले गर्नुभएको हो ।

नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको लोकसेवा तयारी कक्षा नगर क्षेत्रभित्रका युवायुवतीलाई लक्षित गरी सुरु गरिएको हो । लोकसेवा आयोगद्वारा लिइने विभिन्न तहका परीक्षाको तयारीमा सहयोग पुर्‍याउने उद्देश्यले कक्षा सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।

उद्घाटन कार्यक्रममा बोल्दै मेयर भट्टराईले लोकसेवामा युवाको पहुँच बढाउन र दक्ष जनशक्ति उत्पादन गर्न नगरपालिकाले निःशुल्क तयारी कक्षा सञ्चालन गरेको बताउनुभयो । उहाँले अनुशासन, निरन्तर अभ्यास र लक्ष्यप्रति प्रतिबद्ध भए सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

नगरपालिकाका अनुसार कक्षामा नायब सुब्बा, खरिदार, सहायक तथा चौथो तहका परीक्षालाई केन्द्रमा राखी अनुभवी प्रशिक्षकमार्फत अध्यापन गराइनेछ।कक्षा सञ्चालनका लागि आवश्यक पाठ्यक्रम, अध्ययन सामग्री र सहजीकरणको व्यवस्था गरिएको जनाइएको छ ।

स्थानीय युवायुवतीहरूले निःशुल्क रूपमा लोकसेवा तयारी गर्ने अवसर पाएकामा खुसी व्यक्त गरेका छन् । नगरपालिकाले आगामी दिनमा यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै