कालीमाटी बजारमा बिक्रीका लागि आएको रायो सागमा ९९ प्रतिशत विषादी,उपभोग गर्न अयोग्य – Sagarmathapana:: Online News Portal

कालीमाटी बजारमा बिक्रीका लागि आएको रायो सागमा ९९ प्रतिशत विषादी,उपभोग गर्न अयोग्य

   २०८२ पुष ८ गते  

काठमाडौं।काठमाडौंमा उत्पादन भई कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको रायो सागमा अत्यधिक मात्रामा विषादी फेला परेको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज गरिएको परीक्षणमा रायो सागमा ९९.०८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको हो। केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी बजारका १५ वटा पसलबाट संकलन गरिएका १५ प्रकारका तरकारी तथा फलफूलको नमुना परीक्षण गरेको थियो।

परीक्षणका क्रममा रायो सागमा सरकारी मापदण्डभन्दा धेरै गुणा बढी विषादी फेला परेपछि उक्त साग उपभोगका लागि पूर्ण रूपमा अयोग्य रहेको समितिले जनाएको छ।

सरकारी मापदण्डअनुसार अर्गानोफस्फेटको मात्रा ३५ प्रतिशतभन्दा कम भएमा मात्र तरकारी उपभोगयोग्य मानिन्छ। ३५ देखि ४५ प्रतिशतसम्म विषादी भेटिएमा केही दिन सुरक्षित रूपमा राखेपछि मात्र उपभोग गर्न सकिने व्यवस्था छ। तर ४५ प्रतिशतभन्दा बढी विषादी भेटिएमा त्यस्ता तरकारी उपभोग गर्न नमिल्ने स्पष्ट मापदण्ड रहेको छ।

यसअघि पनि कालीमाटी बजारमा बिक्री भएका हरियो धनियाँ, स्थानीय काउली, ब्रोकाउली, तिते करेला, हरियो फर्सी, घिउसिमी लगायतका तरकारीमा अत्यधिक मात्रामा विषादी भेटिँदै आएको छ।

उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै सम्बन्धित निकायले तरकारी उत्पादन, ढुवानी तथा बिक्री प्रक्रियामा कडाइ गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै