राष्ट्रिय खाद्य बैंक लिमिटेडको विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं।राष्ट्रिय खाद्य बैंक लिमिटेडका अध्यक्ष किशोर कुमार प्रधानको नेतृत्वमा गठित नवनिर्वाचित सञ्चालक समिति, व्यवस्थापन समिति तथा सल्लाहकार समितिका विशिष्ट सदस्यहरूको सहभागितामा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
पौष ४ गते शुक्रबार २०८२ मा आयोजित उक्त कार्यक्रममा राष्ट्रिय खाद्य बैंक लिमिटेडको स्थापनाकालदेखि वर्तमान अवस्थासम्मको समग्र परिचय, संस्थागत उपलब्धिको समीक्षा तथा भावी कार्यक्रमहरूको मार्गचित्र प्रस्तुत गरिएको थियो।


कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घकी पूर्व अध्यक्ष डा. भवानी राणा, विभिन्न क्षेत्रका विज्ञहरू डा. राघवराज रेग्मी, डा. गोपालप्रसाद तिवारी, सीए श्री प्रकाश बाबु पन्त, श्री दर्शन न्यौपाने तथा समाजसेवी व्यवसायी श्री रामचन्द्र कोइरालालगायत विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अन्तरक्रियाका क्रममा राष्ट्रिय खाद्य बैंक लिमिटेडले खाद्य सुरक्षा सुनिश्चितता, खाद्य नोक्सानी न्यूनीकरण, सामाजिक उत्तरदायित्व तथा दिगो विकासमा खेलेको भूमिकाको समीक्षा गर्दै आगामी दिनमा निजी क्षेत्र, विज्ञ समुदाय तथा सरोकारवाला निकायहरूसँग सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।



कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्री किशोर कुमार प्रधानज्यूले खाद्य बैंकको उद्देश्य केवल खाद्य संकलन र वितरणमा सीमित नभई समाजमा दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्नु रहेको उल्लेख गर्दै भावी रणनीति तथा योजनाहरू प्रस्तुत गर्नुभयो।
कार्यक्रमले राष्ट्रिय खाद्य बैंक लिमिटेडको संस्थागत सुदृढीकरण, पारदर्शिता तथा प्रभावकारी कार्यान्वयनतर्फ नयाँ ऊर्जा थपेको सहभागीहरूको भनाइ रहेको छ।
यसैबीच, कम्पनीका संस्थापक अध्यक्ष श्री शंकर उप्रेतीका अनुसार बैंकले कृषि उत्पादन, भण्डारण, प्रशोधन, ग्रेडिङ, व्यक्तिगत तथा व्यावसायिक बजार व्यवस्थापनमा निरन्तर लगानी गर्दै आएको छ। यसले कृषिमा व्यावसायिकता प्रवर्द्धन गर्नुका साथै आत्मनिर्भरता अभिवृद्धि हुने विश्वास व्यक्त गरिएको छ।
राष्ट्रिय खाद्य बैंक लिमिटेडले हालसम्म तेल, गेडागुडी, अन्न, माछा, कुखुरा, बाख्रा लगायतका खाद्य उत्पादन तथा पशुपालनसम्बन्धी योजनालाई प्राथमिकतामा राख्दै आएको छ। खाद्य तथा कृषि क्षेत्र लगानीका हिसाबले सुरक्षित र आकर्षक रहेको उल्लेख गर्दै बैंकले उपयुक्त प्रतिफल दिने परियोजनाहरूमा केन्द्रित भएर अघि बढिरहेको जनाएको छ।












