ललितपुरमा ‘सिन्धुली जुनार मेला २०८२,प्रविधिमार्फत ब्रान्डिङ र स्वादमा नवीन प्रयोग – Sagarmathapana:: Online News Portal

ललितपुरमा ‘सिन्धुली जुनार मेला २०८२,प्रविधिमार्फत ब्रान्डिङ र स्वादमा नवीन प्रयोग

   २०८२ पुष ४ गते  

ललितपुर-सिन्धुली जिल्लाको प्रसिद्ध जुनारलाई आधुनिक प्रविधिमार्फत ब्रान्डिङ गर्दै उपभोक्तामाझ यसको बहुआयामिक स्वाद पुर्‍याउने उद्देश्यसहित ‘ललितपुर–सिन्धुली जुनार मेला २०८२’ सुरु भएको छ। सिन्धुलीको गोलन्जोर गाउँपालिकामा हालै सम्पन्न ‘जुनार प्रवर्द्धन मेला’पछि ललितपुरमा यो प्रदर्शनात्मक मेला आयोजना गरिएको हो।

स्टोरी साइकल, स्मार्ट एग्रिकल्चर र रैथानेको संयुक्त आयोजनामा सञ्चालन हुने मेलामा यस वर्ष विशेषगरी गोलन्जोर गाउँपालिकाका विभिन्न बगैँचामा उत्पादित जुनारलाई मुख्य ब्रान्डका रूपमा प्रस्तुत गरिएको छ। ललितपुरमा जुनार मेला आयोजना भएको यो पाँचौँ संस्करण हो।

यस वर्षको मेलाको प्रमुख आकर्षण प्रविधिको अधिकतम प्रयोग रहेको छ। योजना टेक्नोलोजी र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाको प्राविधिक सहयोगमा कृषकका बगैँचा र जुनारका रूखहरूको डिजिटल नक्सांकन गरिएको छ।

करेसा एपका निर्देशक निश्चल पोखरेलका अनुसार यस प्रविधिबाट कुन बगैँचामा कति उत्पादन हुन्छ भन्ने अनुमानित विवरण अग्रिम रूपमा किसान र सहकारीले प्राप्त गर्न सक्नेछन्। साथै उपभोक्ताले ‘करेसा’ एपमार्फत जुनारमा रहेको क्यूआर कोड स्क्यान गरी कुन बगैँचाबाट कहिले टिपिएको हो, कृषकको विवरण र उत्पादनको यात्रासम्बन्धी जानकारी हेर्न सक्नेछन्।

रैथानेका सह–सञ्चालक जेसन शाहका अनुसार मेलाको मुख्य उद्देश्य जुनारलाई परम्परागत नुन–खुर्सानीमा खाने शैलीभन्दा बाहिर लैजाँदै यसका व्यावसायिक र नवीन प्रयोगबारे जानकारी दिनु हो।

मेलामा जुनारबाट बनेका केक, आइसक्रिम, सलाद, क्रेप सुजेट, जुस लगायतका परिकार चाख्न पाइनेछ। चिसो मौसम लक्षित गरी तयार पारिएको ‘हट जुनार जुस’ र स्थानीय जौको रक्सीसँग ‘जुनार जेस्ट’ मिसाइएको स्वाद आगन्तुकका लागि नयाँ अनुभव हुने आयोजकको दाबी छ।

विभिन्न स्थानमा मेला तालिका

आयोजकका अनुसार:

  • पुस ३ गते : दिउँसो १:०० देखि साँझ ६:०० बजेसम्म — भनिमण्डल हाट
  • पुस ४ गते: दिउँसो १:०० देखि साँझ ६:०० बजेसम्म — साझा सहकारी हाट
  • पुस ५ गते: बिहान ७:०० देखि बिहान ११:०० बजेसम्म — साझा सहकारी हाट
  • पुस ६ गते: दिउँसो १:०० देखि साँझ ६:०० बजेसम्म — जावलाखेल हाट
  • पुस ७ गते: दिउँसो १:०० देखि साँझ ६:०० बजेसम्म — धोबीघाट हाट

प्रत्यक्ष रूपमा मेला पुग्न नसक्ने उपभोक्ताका लागि अनलाइनमार्फत जुनार अर्डर गर्ने व्यवस्था पनि मिलाइएको छ।हाट बजारका सञ्चालक राजन खड्काका अनुसार उपभोक्ताको सहजताका लागि यस पटक हाटहरूको संख्या थप गरिएको हो।

स्टोरी साइकलकी सञ्चालक दीपिका ज्ञवालीले कृषि क्षेत्रलाई जलवायुमैत्री बनाउँदै प्रविधिमार्फत बजारसँग जोड्ने अभियानमा निरन्तर लागिरहेको बताइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै