धादिङको गल्छी–८ मा ‘गल्छी कृषि, सांस्कृतिक तथा व्यापार महोत्सव २०८२’ सुरु
धादिङ।धादिङ जिल्लाको गल्छी गाउँपालिका–८ स्थित छाँगेश्वर मन्दिर परिसरमा ‘गल्छी कृषि, सांस्कृतिक तथा व्यापार महोत्सव २०८२’ सुरु भएको छ। भौगोलिक, कृषि तथा सांस्कृतिक रूपमा महत्वपूर्ण मानिने यस क्षेत्रको पहिचानलाई राष्ट्रियस्तरमा उजागर गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।
राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपाल मुख्य आयोजक रहेको महोत्सव २०८२ साल पौष २ गतेदेखि पौष १५ गतेसम्म सञ्चालन हुनेछ।गल्छी–८ मा तामाङ, मगर, क्षेत्री–ब्राह्मणलगायत विभिन्न समुदायको बसोबास रहेको छ भने यहाँका अधिकांश बासिन्दाको मुख्य पेशा कृषि रहेको छ। प्राकृतिक सुन्दरताले भरिपूर्ण यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा महोत्सवले टेवा पुर्याउने अपेक्षा गरिएको आयोजकले बताएका छन्।


‘नेपाली मौलिक लोक संस्कृतिको छुट्टै पहिचान, संरक्षण र प्रवर्द्धन’ भन्ने मूल नारासहित आयोजना हुने महोत्सवमा कृषि, व्यापार, मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ। महोत्सवमा धादिङ र नुवाकोट क्षेत्रका मास, पिडालु, स्ट्रबेरी, कफी लगायतका स्थानीय कृषि उपजको प्रदर्शनी तथा बिक्री गरिनेछ। साथै स्थानीय हस्तकला र औद्योगिक सामग्रीसमेत प्रदर्शनमा राखिने जनाइएको छ।
मनोरञ्जनतर्फ राष्ट्रिय कलाकार ज्योति मगर, प्रिति आले, पशुपति शर्मा, प्रमोद खरेल, रचना रिमाल, सुगम पोखरेल, एलिना चौहान तथा इन्द्रेणी टिम लगायतको सांगीतिक प्रस्तुति रहनेछ।यसका अतिरिक्त लोकदोहोरी कार्यक्रम, विद्यालयस्तरीय नृत्य प्रतियोगिता तथा विभिन्न सांस्कृतिक झाँकीहरूले महोत्सवलाई थप आकर्षक बनाउने आयोजकको विश्वास छ।


महोत्सवमा नेवारी, तामाङ र मगर समुदायका परम्परागत खानाका स्टलहरू तथा ट्राउट माछाका परिकारहरू पनि प्रमुख आकर्षणका रूपमा रहनेछन्।करिब ८० देखि १०० वटा स्टल रहने महोत्सवमा सर्वसाधारणका लागि प्रवेश शुल्क १०० रुपैयाँ तोकिएको छ भने विद्यार्थी र ज्येष्ठ नागरिकका लागि छुटको व्यवस्था गरिएको छ।
महोत्सव सम्पन्न गर्न करिब ५७ लाख २५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।मुख्य प्रायोजक, प्रायोजक तथा सह–प्रायोजकका लागि ३ लाखदेखि ७ लाख रुपैयाँसम्मका विभिन्न प्रचार–प्रसार तथा सम्मान प्याकेज उपलब्ध गराइएको आयोजकले जानकारी दिएका छन्।
यसै अवसरमा गल्छी बगर रिसोर्टको सहकार्यमा मोटरबोट सयरको व्यवस्था पनि मिलाइएको छ।महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन तथा स्थानीय आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजक तथा स्थानीयवासीले व्यक्त गरेका छन्।













