नेपालीहरूको साहस र हिम्मत विश्वमै अनुपम छ : सञ्चारमन्त्री खरेल – Sagarmathapana:: Online News Portal

नेपालीहरूको साहस र हिम्मत विश्वमै अनुपम छ : सञ्चारमन्त्री खरेल

   २०८२ पुष २ गते  

काठमाडौं।सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विभिन्न क्षेत्रमा नेपालीहरूले कायम गरेका विश्वकीर्तिमानले नेपालको पहिचान र स्वाभिमान विश्वभर फैलिएको बताउनुभएको छ ।

कमलादीस्थित स्काइवाक टावरबाट सुरु गरिएको ‘१०० घण्टा निरन्तर टेलिभिजन संवाद (नन–स्टप म्याराथन टिभी टक शो)’ को उद्घाटन गर्दै मन्त्री खरेलले नेपालीहरूमा जन्मजात साहस, धैर्य र सहनशीलता रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपालीहरू असाध्यै सहनशील छन् । कठिन परिस्थितिमा पनि निरन्तर लागिरहने क्षमता हामीसँग छ । त्यसैले विश्वले चिन्न सक्ने काम गर्न नेपालीहरू सक्षम छन् ।”

युवा पत्रकार गौरब पौडेलले गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गर्ने उद्देश्यसहित पहिलोपटक १०० घण्टा निरन्तर टेलिभिजन संवाद कार्यक्रम सञ्चालन गर्नुभएको हो । प्राइम टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण भइरहेको उक्त कार्यक्रमको पहिलो अन्तर्वार्ता सञ्चारमन्त्री खरेलले दिनुभएको थियो ।

मन्त्री खरेलले पत्रकार पौडेलको लगन, मेहनत र साहसिक प्रयासको प्रशंसा गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो । “तेन्जिङ नोर्गे शेर्पा र पासाङल्हामु शेर्पाले सगरमाथा चढेर इतिहास रचेझैँ, यस्ता कीर्तिमानहरूले नेपाललाई विश्वमञ्चमा चिनाउँछन्,” उहाँले भन्नुभयो ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ६२ घण्टा निरन्तर अन्तर्वार्ता लिएर गिनिज वर्ल्ड रेकर्ड कायम गर्नुभएको थियो । सो रेकर्डलाई तोड्ने प्रयासस्वरूप अहिले पत्रकार पौडेलले १०० घण्टे संवाद कार्यक्रम सुरु गर्नुभएको हो ।

“७३ घण्टाको रेकर्ड कसले तोड्ला भन्ने लागिरहेको बेला अब नेपालबाटै नयाँ कीर्तिमान बन्ने विश्वास छ,” मन्त्री खरेलले अग्रिम बधाई दिँदै भन्नुभयो ।

कार्यक्रम सफलताको कामना गर्दै पत्रकार ऋषि धमला र अभियन्ता दुर्गा प्रसाईंले पनि शुभकामना व्यक्त गर्नुभएको छ ।

कार्यक्रम सञ्चालक गौरब पौडेलले युवाहरूको सोच, क्षमता र सिर्जनशीलतालाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्दै नेपाललाई विश्वसामु चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै