नेपाल फुड फोरम २०२५ सम्पन्न: कृषि–खाद्य प्रणाली रूपान्तरणमा युवालाई केन्द्रमा राख्ने प्रतिबद्धता – Sagarmathapana:: Online News Portal

नेपाल फुड फोरम २०२५ सम्पन्न: कृषि–खाद्य प्रणाली रूपान्तरणमा युवालाई केन्द्रमा राख्ने प्रतिबद्धता

   २०८२ पुष १ गते  

काठमाडौँ।समावेशी, जलवायु–अनुकूल र दिगो कृषि–खाद्य प्रणाली निर्माण गर्ने उद्देश्यसहित नेपाल फुड फोरम २०२५ (NFF 2025) काठमाडौँमा सम्पन्न भएको छ। फोरमले कृषि क्षेत्रको रूपान्तरणमा युवाको नेतृत्व, नवप्रवर्तन, उद्यमशीलता र सीप विकासलाई केन्द्रमा राख्दै दीर्घकालीन खाद्य सुरक्षा सुनिश्चित गर्ने लक्ष्य लिएको छ।

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) र कृषि तथा पशुपन्छी विकास मन्त्रालय (MoALD) को सहकार्यमा आयोजित फोरममा सरकारी निकाय, निजी क्षेत्र, अनुसन्धान संस्था, विकास साझेदार, युवा उद्यमी तथा आदिवासी समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै FAO का नेपाल प्रतिनिधि केन शिमिजुले कृषि–खाद्य प्रणाली रूपान्तरणका लागि युवाको नेतृत्व, नवप्रवर्तन र बहुपक्षीय साझेदारी अपरिहार्य रहेको बताए। “समावेशी र जलवायु–उत्थानशील कृषि–खाद्य प्रणाली बिना दीगो खाद्य सुरक्षा सम्भव छैन,” उनले भने।

युएनडिपि नेपालकी प्रतिनिधि हाना सिंगर–ह्याम्डीले जलवायु परिवर्तन र जैविक विविधता ह्रासको चुनौती सामना गर्न युवालाई केन्द्रमा राखेर नीति, लगानी र प्रविधि एकीकृत रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याइन्।

कृषि तथा पशुपन्छी विकास मन्त्री मदन परियारले कृषि क्षेत्रलाई रोजगारी र उद्यमशीलताको आकर्षक माध्यम बनाउने सरकारको प्राथमिकता रहेको उल्लेख गरे। “ग्रामीण बेरोजगारी समाधानका लागि युवामैत्री नीति, वित्तीय पहुँच र बजार सुनिश्चित गर्नु आजको आवश्यकता हो,” उनले भने।

त्यस्तै मन्त्रालयका सचिव राजेन्द्र मिश्रले प्रमाणमा आधारित नीति निर्माण, डिजिटल प्रविधि र नवप्रवर्तनमार्फत कृषि–खाद्य प्रणालीलाई प्रतिस्पर्धी र उत्थानशील बनाउने दिशामा सरकार प्रतिबद्ध रहेको बताए।

वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्द शर्माले जल, वन र कृषि प्रणालीबीचको अन्तरसम्बन्धलाई जोड दिँदै प्राकृतिक स्रोतको संरक्षणबिना दीगो कृषि सम्भव नहुने स्पष्ट पारे। उनले निर्णय प्रक्रियामा युवा र महिलाको सहभागिता बढाउनुपर्नेमा जोड दिए।

फोरमका सत्रहरूमा डिजिटल कृषि, जोखिम न्यूनीकरण, प्रारम्भिक चेतावनी प्रणाली, स्वस्थ आहार प्रवर्द्धन, जैविक विविधता संरक्षण तथा युवाले नेतृत्व गरेका नवीन कृषि व्यवसाय र समुदायमा आधारित अभ्यासहरू प्रस्तुत गरिएका थिए।

हिमाली तथा पहाडी क्षेत्रका स्थानीय उत्पादन—अलैँची, अदुवा, हिमाली मह, याक चीज र उच्च पहाडी बाली—को मूल्य शृङ्खला विकासमार्फत रोजगारी सिर्जना, आय वृद्धि र जलवायु उत्थानशीलता सुदृढ गर्न सकिने सम्भावनाबारे समेत व्यापक छलफल भएको थियो।

फोरमले सरकारी निकाय, निजी क्षेत्र, अनुसन्धान संस्था र विकास साझेदारबीच सहकार्य सुदृढ गर्दै नीति संवाद, लगानी प्रवर्द्धन र युवामुखी पहलमार्फत समावेशी, दिगो र उत्थानशील कृषि–खाद्य प्रणाली निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै