गोलन्जोर गाउँपालिकामा पहिलो पटक ‘जुनार प्रवर्द्धन मेला’ सम्पन्न, स्थानीय पहिचान प्रवर्द्धनमा टेवा
निराज रानाभाट,
सिन्धुली।सिन्धुलीको गोलन्जोर गाउँ पालिकामा पहिलो पटक आयोजना गरिएको जुनार प्रवर्द्धन मेला सफलता पूर्वक सम्पन्न भएको छ। गोलन्जोर गाउँपालिका–४, तीनकन्या स्थित माझकुभिण्डेमा सम्पन्न मेलाको जानकारी मेला संयोजक एवं पालिका अध्यक्ष शंकर राज बरालले दिएका छन्।


गाउँपालिकाको आयोजनामा मंसिर २३ देखि २५ गतेसम्म संचालन गरिएको मेलाले सिन्धुलीको स्थानीय पहिचान, विशेषगरी जुनारको विकास, संरक्षण तथा विस्तारमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।
तीन दिनसम्म चलेको मेलामा जुनार बगैँचाको अवलोकन, स्थानीय कृषि उपज तथा उत्पादनहरूको प्रदर्शनी, स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति, साथै कृषक तथा कृषि विज्ञबीच प्राविधिक विषयमा अन्तरक्रिया लगायतका गतिविधि भएका थिए।



यसैगरी, पालिका भित्र ४ सयभन्दा धेरै विरुवा लगाउने कृषकहरू तथा जुनारको संरक्षण, संवर्द्धन, प्रवर्द्धन र प्रशोधन–विविधिकरणमा विशेष योगदान पुर्याउने व्यक्तित्वहरूलाई पनि मेलामा सम्मान गरिएको अध्यक्ष बरालले बताए।
मेला अवधिभर लाखौ जनाले मेला अवलोकन गरेको अनुमान गरिएको छ। सहभागीको उत्साह, स्थानीयवासीको सहयोग तथा विभिन्न सरकारी–गैरसरकारी संस्थाको सहकार्यमा मेला सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।
अध्यक्ष बरालले मेला सफल बनाउन सहयोग गर्ने सबै जनसमुदाय—तिनकन्या क्षेत्रका आमाबुबा, दाजुभाइ, दिदीबहिनी, युवा, कर्मचारी, सुरक्षाकर्मी तथा पत्रकार—प्रति हार्दिक आभार पनि व्यक्त गरेका छन्।














