बनेपामा आभाष सहकारीद्वारा जेष्ठ सदस्य सम्मान र रक्तदान सम्पन्न
काठमाडौं।काभ्रेको बनेपामा रहेको आभाष बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसमा १९७ जना जेष्ठ सदस्यहरुलाई सम्मान गरेको छ।संस्थाले जेष्ठ सदस्य सम्मान तथा रक्तदान कार्यक्रम गरी १६ औं वार्षिकोत्सव मनाएको छ ।
संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जेष्ठ सदस्यहरुलाई सम्मान गरेको हो । संस्थाले २०७४ सालदेखि ७० वर्ष उमेर पुगेका जेष्ठ सदस्यहरुलाई सम्मान गर्दै आएको संस्थाका मुख्य प्रबन्धक सुवाष वैद्यले जानकारी दिए ।

बनेपा मुख्य कार्यालयबाट १ सय ८० जना, पनौती सेवाकेन्द्रबाट १२ र भकुण्डे सेवा केन्द्रबाट ५ जना गरी १ सय ९७ जनालाई सम्मान गरिएको जनाएको छ । संस्थाका अध्यक्ष ग्रोबेन तौजलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्यहरुलाई हिटर उपहार प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेले जन्मदिने आमाबुबालाई खुशी राख्नसके मात्र उहाँहरुप्रति सच्चा सम्मान हुने बताए ।
उनले सरकारले जेष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता दिनेदेखि अन्य सुविधाहरु दिइरहेको अवस्थाका बीच आभाष सहकारीले आफ्ना जेष्ठ सदस्यहरुलाई पनि सम्मान गर्नु अत्यन्तै महत्वपूर्ण कार्य भएको उल्लेख गरे ।

बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य संस्थाका प्रमुख सल्लाहकार तथा नेपाल उद्योग बाणिज्य संघका उपाध्यक्ष सुरकृष्ण बैद्य, बनेपा नगरपालिकाका उपप्रमुख बिमला सापकोटा लगायतले ज्येष्ठ नागरिकहरु परम्परा, चालचलन र सांस्कृतिका वाहक भएकोले संस्थाले सम्मान गरेकोमा प्रशंसा गरे ।
संस्थाले स्थापना दिवसको अववसरमा आयोजित रक्तदान कार्यक्रममा सदस्य, कर्मचारी सञ्चालक र स्थानीयले रक्तदान गरेका छन् । संस्थाले विरामीको उपचारका लागि आवश्यक पर्ने रगतको मागलाई केही मात्रामा पुरागर्ने उद्देश्यले रक्तदान आयोजना गरेको जनाएको छ।












