आइतबार भोटो देखाइएपछि मच्छिन्द्रनाथको रथजात्रा सम्पन्न हुने
काठमाडौं । रातो मच्छिन्द्रनाथको रथजात्रा आइतबार भोटो देखाइएपछि सम्पन्न हुनेछ । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथ रथलाई बिहीबार जावलाखेल पुर्याइएसँगै आइतबार भोटो देखाउने जात्राको तयारी पूरा भएको गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आचार्यले जानकारी गराए
भोटो देखाएपछि करिब तीन महिनादेखि जारी रथजात्रा सम्पन्न हुनेछ । “भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पुर्याउनुपर्ने परम्परा छ । छ महिनासम्म बुङ्मतीमा रथ राखेपछि साइत हेरेर पाटन मच्छिन्द्रबहालमा ल्याइन्छ । यसरी रातो मच्छिन्द्रनाथको रथलाई ६ महिना पाटन र ६ महिना बुङ्मतीमा राख्ने चलन छ”, आचार्यले भने ।

ज्योतिषीहरूले निकालेको साइतअनुसार रातो मच्छिन्द्रनाथको बिहीबार जावलाखेल पुर्याइएपछि आइतबार भोटो देखाउने कार्यक्रम तय भएको छ । गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आचार्यका अनुसार रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा, मोती, मणि माणिक्य जडित भोटो अपराह्न ४ः ०० बजेपछि देखाइने छ । प्रमुख आचार्यले रथको चारैकुनामा उभिएर तीनपटक देखाउँदै ‘यो भोटो मच्छिन्द्रनाथको हो ?’ भनेर सोध्नेछन् ।
गत वैशाख २७ गते रातो मच्छिन्द्रनाथको मूर्ति मच्छिन्द्रबहालस्थित मन्दिरबाट बोकेर रथारोहण गरेपछि उक्त जात्रा विधिवत् रूपमा सुरु भएको थियो । रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँ गावहाल, मङ्गलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाइ समापन गर्ने गरिन्छ ।
यो जात्रा काठमाडौँ उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा हो । करिब एक हजार ६ सय वर्षअघि सुरु भएको मच्छिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु हुन्छ ।












