काभा वुुमन्स भलिबल नेसन्स लिगमा नेपालको विजयी सुरुवात
काठमाडौं । बिहीबार काठमाडौंमा सुरु भएको काभा वुुमन्स भलिबल नेसन्स लिगमा नेपालले विजयी सुरुवात गरेको छ ।
मध्य एसियाका नेपाल, भारत, इरान, श्रीलंका र माल्दिभ्स गरी पाँच देश सहभागी प्रतियोगितामा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
नेपालले २५–१९, २५–१८ र २५–१९ को सेटमा पराजित गरेको हो । दोस्रो सेटमा श्रीलंकाले ४–२ सम्म अग्रता लिएको थियो, तर नेपाल लयमा फर्कदै श्रीलंकालाई १८ मा नै रोक्यो ।
तेस्रो सेटमा श्रीलंकाले १५ अंक जोड्दासम्म नेपाल पछि परिरहेको थियो । १५ अंकमा बराबरी अंक जोडेपछि भने नेपालले अग्रता बनाउँदै जित हात पार्यो ।
बिहीबारको खेलमा तीन अंक जोडेपछि नेपाली टोली उत्साहित छ । कप्तान अरुणा शाही भन्छिन्, ‘हामीले पछिल्लो पटक खेल्दा बेस्ट अफ ५ खेलेर जितेका थियौं, यो पालि सोझो सेट हराउँदा एमदमै खुसी छौं ।’
यसअघि सन् २०२१ मा बंगलादेशमा भएको काभा वुमन्स च्यालेन्ज कपमा श्रीलंकालाई नेपालले ३–२ को सेटमा पराजित गरेको थियो ।
कप्तान शाहीले आजको खेलको तेस्रो सेटमा सेटिङमा केही गल्ती भएका कारण श्रीलंकाले अग्रता लिएको बताइन् । ‘तेस्रो सेटमा मेरो सेटिङ मिस्टेक भयो । तेस्रो सेटमा मेरो हातबाट बल चिप्लिरहेको थियो । जम्प पास गर्दा पनि मिस्टेक भयो । पछि हामीले सेटर चेञ्ज गरेपछि खेलमा फर्कियौं’, उनले भनिन् ।
प्रशिक्षक जगदिश भट्ट पनि यो जितले नेपाली टिममा उत्साह थपेको बताउँछन् । खेलमा सबै खेलाडीले आफ्नो तर्फबाट उत्कृष्ट प्रदर्शन गरेको उनले बताए । ‘प्रशिक्षकको रुपमा मैले जस्तो सोचेको थिएँ त्यस्तै खेल खेलाडीले खेले’, भट्टले भने ।
रिसिभर सलिना श्रेष्ठले पनि उत्कृष्ट प्रदर्शन गरिन् । सलिनाले बल उठाउँदा दर्शकहरुले हुटिङ गरेका थिए ।












