अपिहिमाल गाउँपालिकालाई‘देशकै उत्कृष्ट पर्यटन विकास गाउँपालिका’को सम्मान – Sagarmathapana:: Online News Portal

अपिहिमाल गाउँपालिकालाई‘देशकै उत्कृष्ट पर्यटन विकास गाउँपालिका’को सम्मान

   २०८२ कार्तिक २६ गते  

दार्चुला- सुदूरपश्चिमको पहाडी–हिमाली क्षेत्र विकासमा गरेको योगदानका लागि अपिहिमाल गाउँपालिकालाई संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्ष देशभरका स्थानीय तहमध्ये पर्यटन विकासमा उत्कृष्ट गाउँपालिका घोषणा गरी सम्मान गरेको छ।

मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले विश्व पर्यटन दिवस(सेप्टेम्बर २७) का अवसरमा गाउँपालिका अध्यक्ष भगत सिंह ठेकेरे बोहरालाई मन्त्रालयमै बोलाएर सम्मानपत्र हस्तान्तरण गरेका थिए।अपिहिमालले पाँचवर्षीय आवधिक योजना,वार्षिक नीति-कार्यक्रम र १० वर्षे पर्यटन रणनीति योजना अनुसार काम गर्दै छोटो अवधिमा सुदूरपश्चिमकै प्रमुख पर्यटन गन्तव्यको रूपमा आफूलाई स्थापित गर्न सफल भएको जनाएको छ।

गाउँपालिकाले स्थानीय,प्रदेश र संघीय सरकारका निकायहरूसँग सहकार्य गरी केवल तीन वर्षभित्रै पर्यटन पूर्वाधार र प्रवर्द्धनमा उल्लेखनीय प्रगति हासिल गरेको बताइएको छ।ट्रेकिङ तथा हिमाल आरोहण पर्यटनको सुरुवात,कृषि-पर्यटन प्रवर्द्धन र स्थानीय उत्पादन बजार विस्तारमार्फत रोजगारी सृजना गरिसकेको गाउँपालिकाको दाबी छ।

अध्यक्ष भगत सिंह ठेकेरे बोहरेले यस सफलताका लागि नेपाल पर्यटन विभाग,नेपाल पर्यटन बोर्ड, UNDP (STLRP र STP परियोजना), सुदूरपश्चिम प्रदेश पर्यटन इकाई, NATTA सुदूरपश्चिम, TAAN, NMA,HAAN र पर्यटन पत्रकार तथा सञ्चारगृहहरू प्रति हार्दिक आभार व्यक्त गरे।उनले जनप्रतिनिधि, कर्मचारी, स्थानीय बासिन्दा, होमस्टे सञ्चालक,होटल व्यवसायी,पर्यटन सद्भावना दूत हिमालय भट्ट र काठमाडौंका पर्यटन व्यवसायी मित्रहरूको पनि विशेष धन्यवाद दिए।


गाउँपालिकाले हालसम्म सुदूरपश्चिमको उच्च हिमाली पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको र यसले स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य र रोजगारीमा सकारात्मक प्रभाव देखिने गरेको प्रकाश पारेको छ। अध्यक्षका अनुसार अब ‘अपि हिमालदेखि सैपाल हिमालसम्म’ पर्यटन सर्किट विकास गर्ने दीर्घकालीन योजना अघि बढाइनेछ जसले थप पर्यटक आकर्षण र स्थानिय अर्थतन्त्रलाई बल प्रदान गर्ने अपेक्षा गरिएको छ।

उल्लेखनीय छ कि अपिहिमाल गाउँपालिकाले २०८० असोज १० (सेप्टेम्बर २७, २०२३) मा सुदूरपश्चिम प्रदेशका पर्यटन मन्त्रीबाट अपिहिमाल बेसक्याम्पमा पर्यटन वर्ष उद्घाटन गरेको थियो। ठीक दुई वर्षपछि, सेप्टेम्बर २७ कै दिन विश्व पर्यटन दिवसको अवसरमा गाउँपालिकालाई राष्ट्रिय स्तरबाट सम्मान गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै