पोखरा विश्वविद्यालयद्वारा काठमाडौंमा पहिलोपटक एआई र डाटा साइन्समा स्नातक कार्यक्रम सुरु
काठमाडौं-पोखरा विश्वविद्यालय ले पहिलो पटक काठमाडौंका लागि आफ्नो आङ्गिक क्याम्पसमार्फत कृत्रिम बौद्धिकता (Artificial Intelligence) र डाटा विज्ञान (Data Science) विषयमा स्नातक तहको नयाँ कार्यक्रम सुरु गरेको छ।
ललितपुरको च्यासलस्थित श्रमिक शान्ति क्याम्पसलाई आङ्गिक क्याम्पसका रूपमा सञ्चालन गर्दै विश्वविद्यालयले यो शैक्षिक सत्रदेखि उक्त विषयमा भर्ना खुला गरेको हो। आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमको औपचारिक घोषणा गरिएको छ।


विश्वविद्यालयका विज्ञान तथा प्रविधि सङ्कायका डीन सह–प्रा. बुद्धिराज जोशीका अनुसार बजारको माग र प्रविधिको तीव्र विकासलाई मध्यनजर गर्दै एआई र डाटा साइन्स कार्यक्रम सुरु गरिएको हो। “एआई अहिलेको आवश्यकता हो। नेपालमा यस क्षेत्रमा दक्ष जनशक्ति अत्यन्त कम छन्, त्यसैले यो कार्यक्रम समयको माग हो,” उनले भने।
त्यस्तै, विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्धन केन्द्रकी कार्यकारी निर्देशक सह–प्रा. डा. दीपाञ्जल श्रेष्ठले एआई क्षेत्रमा दक्ष जनशक्ति अभावका कारण विश्वविद्यालयले आफ्नै आङ्गिक क्याम्पसबाट कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको बताइन्।
विगतमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेको श्रमिक शान्ति कलेज अब पोखरा विश्वविद्यालयको शैक्षिक व्यवस्थापनअन्तर्गत सञ्चालन हुनेछ। सो कलेजले एआई र डाटा साइन्ससँगै कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (BSc CSIT) र कानून विषयमा (BALLB) पनि नयाँ स्नातक तहका कार्यक्रम सुरु गरेको छ।
विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन डा. सुरेन्द्र तिवारीका अनुसार यी कार्यक्रमहरूको शुल्क प्रतिकोर्स रु. ४ लाख ३० हजारदेखि ४ लाख ९२ हजारसम्म निर्धारण गरिएको छ। साथै, करिब २० प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिमा अध्ययन गर्ने अवसर प्रदान गरिनेछ।
पोखरा विश्वविद्यालयका उपप्राध्यापक सानु घलेका अनुसार हाल विश्वविद्यालयअन्तर्गत पाँच आङ्गिक क्याम्पस, तीन संयुक्त आङ्गिक क्याम्पस र ५८ सम्बन्धन प्राप्त क्याम्पसमा गरी करिब ४० हजार विद्यार्थी अध्ययनरत छन्।












