आगामी निर्वाचन तयारी : आयोग र दलबीच आज निर्णायक छलफल

काठमाडौं।निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका तयारीबारे राजनीतिक दलहरूसँग आज (बिहीबार) छलफल गर्दैछ। आयोगले बिहान ११ बजेका लागि सबै दलहरूलाई बैठकमा बोलाएको जनाएको छ।
आयोगका अनुसार छलफलमा निर्वाचनको तयारी, आचारसंहिता, मतदाता नामावली अद्यावधिक, र सुरक्षासम्बन्धी विषयमा सुझाव लिइनेछ। आगामी निर्वाचनलाई निष्पक्ष र सहज बनाउन आयोगले दलहरूको सहयोग अपेक्षा गरेको छ।
सरकारले यसअघि फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा गरिसकेको छ। त्यसअनुसार आयोगले आवश्यक कार्यतालिका सार्वजनिक गरिसकेको छ र तयारी तीव्र बनाएको छ।
निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूले पनि आ–आफ्ना उम्मेदवार छनोट र चुनावी रणनीति बनाउने कार्य तीव्र पारेका छन्। आयोग र दलबीचको आजको छलफलले आगामी निर्वाचनको वातावरणलाई अझ स्पष्ट बनाउने अपेक्षा गरिएको छ।